“सम्मानजनक तरिकाले विदेश यात्रा गर्न सक्ने”: तालिबान

१३ भाद्र २०७८, आईतवार १५:४१

अफगानिस्तानमा तालिबानको राज चल्न थालेपछि मानिसहरू देश छोड्न खोजिरहेका छन् ।

त्यस्ता मानिसका लागि तालिबानले बयान जारी गरेको छ । बाहिर जान चाहनेहरूले कमर्सियल उडान पुनः शुरू हुने प्रतीक्षा गर्नुपर्ने र उचित दस्तावेजका साथ सम्मानजनक तरिकाले विदेश यात्रा गर्न सक्ने तालिबानको भनाइ छ ।

तालिबानले अफगान नागरिकहरूलाई देशबाट भाग्नुको साटो मुलुककै प्रगतिका लागि काम गर्न आह्वान पनि गरेको छ ।

तालिबानको राजनीतिक कार्यालयका उपनिर्देशक शेर मोहम्मद अब्बास स्टानिकजाईले कमर्सियल उडानको प्रतीक्षा गर्न अफगानहरूलाई आह्वान गरेका हुन् ।

हजारौं अफगान नागरिक काबुल विमानस्थलमा भेला भएका छन् र देश छोड्न खोज्दैछन् । यस प्रयासमा कैयौंले ज्यान गुमाइसकेका छन् ।

बिहीवार भएको आत्मघाती आक्रमणमा लगभग १०० अफगान नागरिक र १३ अमेरिकी सैनिक मारिए ।

यस्तै आक्रमण फेरि हुन सक्ने भन्दै अमेरिकाले सैनिक र नागरिकहरूलाई विमानस्थलबाट टाढा बस्न भनेको छ ।

तालिबानले अफगानहरूलाई देशको प्रगतिका लागि काम गर्न र मुलुक छोडेर नजान भनेको छ ।

शत्रुहरूले तालिबानका विरुद्ध गरिरहेको नकारात्मक प्रचारको जवाफ इमामहरूले दिनुपर्ने पनि उसको कथन छ ।