अफगानिस्तानका नागरिकलाई विमानस्थल जान रोक

१३ भाद्र २०७८, आईतवार १३:१७

तालिबानले अफगानिस्तानका नागरिकलाई विमानस्थल जान रोक लगाएको छ । विदेशी मुलुकको तर्फबाट उद्धार गरिन सक्ने मानिसलाई तालिबानले विमानस्थलमा जानबाट रोक लगाएको हो ।

अमेरिकाले अफगानिस्तानबाट आफ्ना सैनिक तथा नागरिकको उद्धारको कार्य अन्तिम चरणमा पुर्‍याएसँगै तालिबानले अफगानिस्तानी नागरिकलाई विमानस्थलमा जान रोक लगाएको हो ।

पश्चिमा मुलुकका नेताहरुले अगष्टको अन्तिमसम्म आफ्नो सेनाको लागि काम गर्ने सबैलाई उद्धार गर्न नसकिने बताइसकेका छन् । यद्यपि आगामी दिनमा तालिबानसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको उनीहरुको भनाइ छ ।

यसैबीच तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले आफ्नो संगठनले विमानस्थलको केही भाग नियन्त्रणमा लिइसकेको बताएका छन् । साथै अमेरिकी सेना हटेसँगै विमानस्थललाई शान्तिपूर्ण रुपमा नियन्त्रणमा लिन तयार रहेको मुजाहिदले बताएका छन् । यद्यपि अमेरिकी सेनाले भने विमानस्थल पूर्ण रुपमा आफ्नो नियन्त्रणमा रहेको बताएको छ ।