रियल म्याड्रिडको विजयी, ला लिगाको शीर्षस्थानमा को ?

१३ भाद्र २०७८, आईतवार १३:०५

रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा रियल बेटिसलाई उसैको मैदानमा १–० गोलले हराउँदै रियल म्याड्रिडले शीर्षस्थान कब्जा गरेको हो ।

रियलको कठिन जितमा ड्यानीयल कार्भाजल नायक बने । कार्भाजलले ६१औं मिनेटमा कप्तान करिम बेन्जेमाको पासमा गोल गरेका थिए ।

प्रतिस्पर्धात्मक खेलमा रियलले पहिलो हाफको सुरुवातमै गोलगर्ने राम्रो मौका गुमाएको थियो ।

छैटौं मिनेटमा भिनिसियस जुनियरको पासमा पोस्ट नजिक पाएको उत्कृष्ट अवसरलाई बेन्जेमाले सदुपयोग गर्न सकेनन् ।

बेटिसले पनि पहिलो हाफमा राम्रा अवसर खेर फालेको थियो । ३६औं मिनेटमा मार्टिन मोन्टोयाको पोस्ट छेउको अनर्माक प्रहार बाहिरिएको थियो ।

रियलले दोस्रो हाफको सुरुवातमै सुन्दर मौका गुमायो । ५४औं मिनेटमा करिम बेन्जेमाको गोललाई रेफ्रीले अफसाइड देखाएर मान्यता नदिँदा रियल थप तनाबमा देखियो ।

यता बल पोसेसनमा रियललाई डोमिनेन्ट गरेको बेटिसले दोस्रो हाफमा समेत गोल फर्काउन नसक्दा हार खेप्न बाध्य भयो । बेटिसले ५१ प्रतिशत बल पोसेसन राखेको थियो ।

४९ प्रतिशत बल पोसेसन राखेको रियलले दोस्रो हाफको गोलपछि डिफेन्सिभ खेल खेल्यो । रियलले १३ र बेटिसले ११ वटा पोस्ट प्रहार गरेको थियो । रियलका भिनिसियस जुनियर ‘म्यान अफ दी म्याच’ भए ।

जितसँगै शीर्षस्थानमा रहेको रियलले तीन खेलबाट सात अंक बनाएको छ । रियलले गोलअन्तरका आधारमा शीर्षस्थान कब्जा गरेको हो ।

समान सात अंक बनाएको सेभिया भ्यालेन्सिया र मालोर्का क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छ । रियलसँग पराजित बेटिस दुई अंकसहित १४औं स्थानमा छ ।

अर्को खेलमा सेभियाले इल्चेसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । इल्चेको घरेलु मैदानमा खेलिएको प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता इल्चेले नै लिएको थियो । ११औं मिनेटमा इच्चेका इन्जो रोकोले फिडेल चाभेसको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाए ।

सेभियाले ४०औं मिनेटमा युसुफ इन नासेरीले मार्कस अकुनाको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याएकापछि दुवै टोलीले थप गोल गर्न नसक्दा एक एक अंक बाँडे ।

अर्को खेलमा रियल सोसिडाडले लिभान्तेलाई १–० गोलले हरायो ।

अर्को खेलमा एथलेटिक बिल्बाओले सेल्टा भिगोलाई उसैको मैदानमा १–० गोलले स्तब्ध बनायो ।