
काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । नेप्से सूचकसँगै खरिदबिक्री रकमसमेत सुस्त बनोको छ । सबै समूहको सूचक घटेको छ । बुधबार नेप्से सूचक ४८.४२ अंकले घटेर ३०७६.४४ विन्दुमा आइपुगेको छ । यस दिन १२ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । केन्द्रीय बैंकले एकीकृत निर्देशन जारी गरेको भोलीपल्ट बजारमा भारी गिरावट आएको हो । सेयर धितो कर्जाको सीमा १२ करोड कायम गरिएको र यसलाई सीमा भित्र ल्याउन १ वर्षको समय दिइएको छ ।
यस्तै, कर्जा भुक्तानी गर्ने म्याद सकिएकाले नवीकण गर्दा सोही सीमाभित्र कायम गरेर नवीकरण गर्नुपर्छ । यसबाट पनि बजार केही प्रभावित भएको अनुमान गरिएको छ । यसरी नवीकरण गर्नेले वास्तविक समय १ वर्षको समय नपाउन पनि सक्छ । यस व्यवस्थाबाट ठूला लगानीकर्ता रुष्ट बनेका छन् । यद्दपि, यो १२ करोढको सीमा नयाँ होइन । मौद्रिक नीतिमार्फत नै यसको व्यस्था गरिएको थियो ।
एकीकृत निर्देशनमा समयको बारेमा मात्र थप व्यवस्था गरिएको हो । तर यो व्यवस्थाबाट मझौला र साना लगानीकर्तालाई खास केही फरक पर्दैन । हाम्रो बजारमा साना लगानीकर्ताहरुको संख्या अधिक छ । यस्तै, बजार ३२ सय विन्दुमा माथि पुगेपछि ट्रेडरहरुले नाफा बुक गरेका थिए । नाफा बुक गरेकाहरुले भाउ घटेपछि मात्र किन्ने भएकाले पनि बजार प्रभावित हुनलाई सहयोग पुगेको अनुमान गरिएको छ ।
किन भने नाफा बुक गरेकाहरुले बजार थप घटाउन चाहने प्रवृत्ति हुन्छ । भाउ घटेर सस्तो भएपछि मात्र उनीहरु किन्ने गर्छन् । यसको सीधा प्रभाव बजारमा पर्ने गर्छ । जे जस्ता कारणले बजार घटेको भए पनि केही दिनपछि पुनः अग्रगामी गति लिने विश्लेषकहरु बताउँछन् । करेक्सनको चरण सकिएपछि बजार फेरि माथि लाग्नेछ, उनीहरु भन्छन् ।
सूचीकृत कम्पनीहरुले वित्तीय विवरणहरु सार्वजनिक गरिसकेका छन् । कोभिड महामारीका बीचमा पनि कम्पनीहरुले राम्रो नाफा वृद्धि गर्न सफल भएका छन् । यसबाट सेयर बजारका लगानीकर्ताहरु थप उत्साहित हुनुपर्ने अवस्था छ। वित्तीय विवरणपछि अब लाभांश घोषणा र साधारण सभाको समय आउँदैछ । यसर्थ, यो सेयर बजारको प्रमुख सिजन पनि हो ।
यतिबेला सेयर होल्ड गर्नेले निकै छोटो अवधिमा लाभांश हात पार्न सक्नेछ । साथै, सिजनका बेला बढेको बजारबाट पुँजीगत लाभ आर्जन गर्ने विषय त छँदैछ । सहज तरलता, सस्तो बैंक ब्याजदर सेयर बजारका लागि सकारात्मक पक्ष हो । बजारमा नयाँ लगानीकर्ता थपिनेक्रम जारी छ । यसले प्राथमिक र दोस्रो बजारमा क्रमशः नयाँ लगानीकर्ता थपिइरहेको पुष्टि हुन्छ ।
युवा पुस्ताहरु सेयर बजारमा प्रवेश गरिरहेका छन् । अनलाइन प्रणाली र बढ्दो सूचनाप्रविधिको विकासले गाउँघरमा समेत विस्तारै सेयर बजारसम्बन्धी चेतना विकास हुँदै गएको छ । सेयर बजार प्रविधिमैत्री भएको छ । यसबाट दूरदराजमा बस्नेहरुलाई समेत सेयर खरिदबिक्रीमा निकै सजिलो भएको छ । सेयर बजार तलमाथि गरिरहन्छ । यो बजारको स्वभाविक प्रक्रिया हो ।
यसर्थ, आम लगानीकर्ताले योजनाबद्ध हिसाबले अघि बढ्न सक्नुपर्छ । लगानी गरिएका कम्पनीको नाफा, रिजर्भ, प्रतिसेयर आम्दानी, पीई अनुपात लगायतका प्रमुख पक्षहरुमा ध्यान दिन आवश्यक छ । सकेसम्म अलिलामो समयसम्म होल्ड गर्ने हिसाबले लगानी गर्न सक्नुपर्छ । यसो गर्न सकिएमा दिनहुँ हुने उतारचढावबाट प्रताडित हुनुपर्दैन ।
