
काठमाडौँ। माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले दल दर्ताको लागि बुधबार सांसद र केन्द्रीय सद्स्यको हस्ताक्षर सनाखत सकिएको छ । नेकपा एमालेबाट फुटेर नेपाल लगायतका नेताहरुले अलग दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दिएका थिए । सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो ।सोही क्रममा नेकपा एकीकृत समाजवादीका २९ सांसद र ५५ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका हुन् ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका सांसद तथा केन्द्रीय सदस्यहरुले पनि निर्वाचन आयोगमा सनाखत गरेर फर्केका छन् । जसपाबाट फुटेर महन्थ ठाकुर र राजेन्द्र महतोलगायतका नेताहरुले अलग दल लोकतान्त्रिक समाजवादी दर्ता गर्न निवेदन दिएका थिए । सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो ।
सोही क्रममा लोसपाका १४ सांसद र १७ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका हुन् । योसँगै ठाकुर नेतृत्वको पाटीले दल दर्ताको प्रमाणपत्र पाउने भएको छ । यसअघि जसपामा ३४ सांसद थिए । जसमध्ये ठाकुरको पक्षमा १४ सांसद पुगेपछि उनको पार्टीले वैधानिकता पाउने निश्चित भएको हो । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश खुकुलो पार्दै सांसद वा केन्द्रीय सदस्यमध्ये २० प्रतिशत पुर्याएपछि नयाँ दल दर्ता गर्न सहज बनाएको थियो ।
