निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी

९ भाद्र २०७८, बुधबार १३:५२

काठमाडौं । निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीको सनाखत हुँदैछ ।सनाखत गर्नका लागि दुबै पार्टीका नेताहरु निर्वाचन आयोग पुगेका छन् । नेकपा (एस) र लोसपाका नेताहरु आयोगमा पुगेपछि आयोगका अधिकारीहरुले दल दर्ताका लागि दिएको निवेदनमा भएको हस्ताक्षरको सनाखत गरेका हुन् ।
हस्ताक्षर सनाखतका लागि दुबै पार्टीलाई अलग अलग स्थान तय गरिएको छ । सम्बन्धित दललाई छट्टयाएको स्थानमा पुगेर ती दलका नेताहरुले आयोग अधिकारीको रोहबरमा भौतिक रुपमा उपस्थित भई सनाखत गरेका हुन् ।
नेकपा (एस) नेताहरु भने चन्द्रागिरि हिल्समा भएको बैठकबाट सिधै निर्वाचन आएका हुन् । यसरी आउनेमा पार्टी अध्यक्ष माधव नेपालसहितका नेताहरु हुनुहुन्छ । पार्टी विधान निर्माण लगायतका विषयमा छलफल गर्न उक्त दलका नेताहरु गत सोमबार नै चन्द्रागिरि हिल्स पुगेका थिए ।
नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीका नेता निर्वाचन आयोगमाः पार्टी दर्ताका लागि सनाखत हुँदै
आयोगले दुबै दलको सनाखतका लागि आज बिहान ११:३० बजेदेखि दिउँसो २ बजेसम्मको समय निर्धारण गरेको छ ।
सरकारले केन्द्रीय समिति र संसदीय दल मध्ये एकमा २० प्रतिशत पुर्‍याएमा दल विभाजन गर्न सकिने अध्यादेश ल्याएपछि नेता नेपालले नेकपा (एस) तथा ठाकुर लोसपा नामक दल दर्ताका लागि आयोगमा निवेदन दिनुभएको थियो ।
नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीका नेता निर्वाचन आयोगमाः पार्टी दर्ताका लागि सनाखत हुँदै
सनाखतसहितका सबै प्रमाण पुगेमा आयोगले दुबै पार्टीलाई दर्ताको प्रमाण पत्र दिन सक्नेछ ।