
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन अपिल गरेका छन्।
सोमबार चन्द्रागिरि पुगेका उनले त्यहाँबाट अपिल जारी गर्दै पार्टी दर्ताको प्रक्रिया अगाडि बढेको सन्दर्भमा पटकपटक बेइमानी र धोखाधडीको निरन्तरता स्वरूप नै वार्ता र सहमतिका भ्रमपूर्ण समाचार सार्वजनिक भइरहेको उल्लेख गरेका छन्।
सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपाललाई छाडेका स्थायी कमिटी सदस्यहरूबीच बालकोटमा छलफल भएर १० बुँदे सहमति कार्यान्वयन गर्न मंगलबार स्थायी कमिटी बैठक बोलाइएको थियो।
तर अध्यक्ष नेपालले ती कुरा छलकपटपूर्ण रहेको बताएका छन्।
‘यसप्रकारका छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी हाम्रो पार्टी एवं नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति, न्यायप्रेमि एवं क्रान्तिकारी जनसमुदायमा हार्दिक अपिल गर्दछु,’ उनले फेसबुकमार्फत् अपिल गर्दै भनेका छन्।
अध्यक्ष नेपालसहित उनी पक्षका सांसद र केन्द्रीय सदस्यहरू सोमबार बेलुकीदेखि चन्द्रागिरि हिल्स रिसोर्टमा बसेका छन्। उनीहरू बुधबार त्यहीँबाट निर्वाचन आयोग जाने तयारीमा छन्। आयोगले सनाखतका लागि बुधबार समय दिएको छ।
यस्तो छ अपिल:
दक्षिणपन्थी विसर्जनवाद, विकृती, अन्याय र विसंगतिका विरूद्ध विद्रोह गर्दै कम्युनिष्ट आन्दोलन र संस्कृतिको रक्षा, मुलुकको समृद्धि एवं जनतालाई खुसी प्रदान गर्ने लक्ष्यसहित नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकका बेइमानी एवं धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमती’ का भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएका छन्।
अत: यस प्रकारका छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी हाम्रो पार्टी एवं नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति, न्यायप्रेमी एवं क्रान्तिकारी जनसमुदायमा हार्दिक अपिल गर्दछु।
