एमाले (समाजबादी) दर्ता पछि माधव नेपालको गुनासो : ‘केपी ओलीले पार्टी फुटाउन बाध्य पारे’

२ भाद्र २०७८, बुधबार २०:३२

काठमाडौं । नयाँ दल नेकपा एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका माधवकुमार नेपालले जनपक्षीय आचरणलाई बचाइराख्न नेकपा एमालेबाट वैधानिक रूपमा विद्रोह गर्नुपरेको बताएका छन् ।

निर्वाचन आयोगमा नयाँ दल दर्ताको लागि निवेदन दिएर फर्किएलगत्तै अपिल जारी गर्दै नेपालले नेकपा एमालेलाई नयाँ ढंगले पुनर्गठित र रूपान्तरित गर्ने अभियान चलाउनु आवश्यक भएको बताए ।

‘नेकपा (एमाले) पुनर्गठन र रूपान्तरणको यस महाअभियानको क्रममा हामीले नेकपा (एमाले) बाट वैधानिक रूपमा विद्रोह गरी नेकपा एमाले (समाजवादी) नामको नयाँ पार्टी गठन गर्दै अगाडि बढेका छाैं,’ नेपालले अपिलमा भनेका छन् ।

नेकपा एमाले (समाजवादी) पार्टीको अध्यक्षमा माधव नेपालको नाम प्रस्ताव गरिएको छ । निर्वाचन आयोगले आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि मात्रै उनीहरूलाई नयाँ दल दर्ताको प्रमाणपत्र दिनेछ ।

नेपालले भनेका छन्, ‘हामी आफ्नो राष्ट्र र जनताप्रतिको कर्तव्य पालनाबाट विमुख हुन पनि सक्दैनौं । त्यसैले नेपाली कम्युनिस्ट आन्दोलनले स्थापित गरेका देश र जनताप्रतिको सेवा भाव, राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानप्रतिको दृढ अडान, स्वच्छ संस्कार र क्रान्तिकारी अडान तथा समाजवादी ध्येयप्रतिको अटल विश्वासजस्ता असल मान्यतामा अडिइरहन चाहन्छौं ।’

नेकपा एमालेका अध्यक्ष केपी ओलीले अँगालेको गलत विचार व्यवहारका कारण नयाँ पार्टी गठन गर्ने अवस्थामा पुग्नुपरेको नेता नेपालले बताए । पार्टीका सिद्धान्त, नीति, विचार र पार्टीको नवौं महाधिवेशनबाट पारित गरिएका निर्णय अनुसार केपी ओली नचलेका कारण आफूहरूले नयाँ पार्टी गठन गर्नुपरेको नेपालले अपिलमा उल्लेख गरेका छन् ।

अदालतको फैसलाबाट नेकपा विभाजन भइसकेपछि साविकको एमालेको बैठक राख्नुपर्नेमा ओलीले त्यसो नगरेर ‘केन्द्रीय कमिटीको विशेष बैठक’ भन्ने नाम दिएर पार्टीभित्रको आफ्नो गुटको मात्र बैठक राखेर पार्टीलाई विभाजनको दिशामा लगेको नेपालले बताए ।

‘नेकपा (एमाले) को नवौं महाधिवेशनका निर्णयहरू उल्ट्याउने, महाधिवेशनबाट पारित पार्टी विधानमा संशोधन गर्ने, महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको पद खारेज गर्ने जस्ता निर्णय गरी नेकपा (एमाले) लाई विभाजनततर्फ धकेलिदिनुभयो,’ नेपालले भने ।

२०७७ चैत ४–५ गते राष्ट्रिय कार्यकर्ता भेला गरेर ‘नेकपा एमालेको एकता बचाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने आह्वान आफूहरूले गरेको भए पनि ओलीले एकताका लागि पहल गर्ने होइन कि उल्टै निरन्तर रूपमा विभाजनकारी क्रियाकलाप अगाडि बढाएको नेपालको आरोप छ ।

‘उहाँ गाली गलौजमा समेत उत्रिनुभयो । उहाँले पार्टी एकताको पक्षमा रहेको भान पार्न अनेकौं प्रकारका चालबाजी र नाटक त गर्नुभयो तर वास्तवमा पार्टी एकतामा अगाडि बढ्न चाहनुभएन,’ नेपालले भने, ‘यति मात्र होइन, उहाँले कहिले स्पष्टीकरण, कहिले कारवाही, कहिले आममाफी, गद्दार, देशद्रोही घोषणा गर्दै फलानो फलानो व्यक्तिको निम्ति एकताको च्याप्टर क्लोज, ढोका बन्द भन्दै नेतृत्व पंक्तिबीच विभाजन ल्याई अल्मल्याउने र कतिपयलाई तान्ने काममा लागि रहनुभयो ।’

ओलीले पार्टी नेता र सांसदलाई कारवाही गरी गैरकानूनी रूपमा निष्कासन गर्ने तहमा उभिसकेपछि बाध्य भएर कठोर फैसला गर्नुपर्ने अवस्था सिर्जना भएको नेपालले बताए ।

‘पार्टीको ठूलो पंक्तिलाई अन्धकार भविष्यतिर धकेलिने र निराशाको अवस्थामा पुग्न नदिन तथा नेपाली कम्युनिस्ट आन्दोलनलाई विसर्जन हुनबाट जोगाउनका निम्ति हामीले कठोर कदम चाल्नुपर्ने स्थिति उत्पन्न भएको छ,’ अपिल जारी गर्दै नेता नेपालले भनेका छन्, ‘नेकपा (एमाले) को पुनर्गठन एवं रूपान्तरण गर्दै नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यले विकल्पको बाटो रोज्नुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको छ ।’