नेप्से सूचकले ‘अल टाइम हाइ’ रेकर्ड बनायो कारोबार रकम पनि रेकर्ड नजिक

२ भाद्र २०७८, बुधबार १५:४४

काठमाडौं । बुधबार नेप्से सूचकले नयाँ रेकर्ड कायम गर्दा कारोबार रकम पनि रेकर्ड नजिक पुगेको छ। यस दिन नेप्से सूचक झण्डै ३२०० विन्दु नजिक पुगेको छ भने कारोबार रकम समेत २१ अर्ब माथि छ।

बुधबार नेप्से सूचक ३७.८७ अंकले बढेर ३१९८.१९ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि ४.८३ अकंले बढेको छ। यो नेप्से सूचकले कायम गरेको हालसम्मकै नयाँ उचाइ हो। यसअघि नेप्से सूचकले ३१७८.९१ विन्दुको रेकर्ड बनाएको थियो। बुधबार उक्त रेकर्डलाई तोड्दै नयाँ रेकर्ड बनाएको हो।

बुधबार कारोबार रकम समेत रेकर्ड नजिक पुगेको छ। यस दिन कारोबार रकम २१ अर्ब ३१ करोड रुपैयाँभन्दा माथि पुगेको छ। यसअघि नेप्सेमा २१ अर्ब ५३ करोड रुपैयाँसम्मको शेयर कारोबार भएको थियो। बुधबार २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार २६९ रुपैयाँ बराबरको ३ करोड ६५ लाख ९ हजार ७५१ कित्ता शेयर कारोबार भएको छ।

बुधबार ९ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा करोबार भएको छ। बुधबार अरुण भ्याली हाइड्रोपावर, अरुण कावेली हाइड्रोपावर, शिवम सिमेन्ट्स र जिवन विकास लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने आँखुखोला हाइड्रोपावरको ९.९८ प्रतिशत, महालक्ष्मी विकास बैंकको ९.९६ प्रतिशत र गुडविल फाइनान्सको ९.४० प्रतिशतले बढेको छ।

यता एनआइविएल प्रगति फण्डको ४.६१ प्रतिशत घटेको छ भने आरएसडिसि लघुवित्तको ३.३५ प्रतिशत, खानिखोला हाइड्रोपावरको ३.१० प्रतिशत, र आरएमडिसि लघुवित्तको २.८७ प्रतिशतले घटेको छ।

बुधबार नेश्नल हाइड्रोपावरको सबैभन्दा धेरै ७८ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अपि पावरको ६३ करोड ४६ लाख, लुम्बिनी विकास बैंकको ५९ करोड ७६ लाख, महालक्ष्मी विकास बैंकको ५७ करोड ६९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

बुधबार पनि विकास बैंक र फाइनान्स कम्पनीमा लगानीकर्ताको आकर्षण कायमै रहेको देखिएको छ। यस दिन विकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै ५.५५ प्रतिशतले बढेको छ भने फाइनान्स उपसमूहको ४.८७ प्रतिशतले बढेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको सूचक पनि ३.५५ प्रतिशतले बढेको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमा २ उपसमूहको सूचक नकारात्मक देखिएको छ भने बाँकी ११ उपसमूहको सूचक सकारात्मक देखिएको छ।