
काठमाण्डौ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफूहरूले आजै नयाँ पार्टी दर्ता गर्ने बताएका छन्।
बुधबार बिहानैदेखि बानेश्वरस्थित एक होटलमा आफ्ना पक्षका सांसद तथा केन्द्रीय सदस्यहरूसँग छलफल गरिरहेका नेपाल दिउँसो संवाददाताहरूसँग कुरा गर्दै सबै तयारी भइसकेको बताएका हुन्।
‘हामीले सबै तयारी गरिसक्यौं, आजै पार्टी दर्ता हुन्छ,’ नेपालले भने।
नेपाल पक्षका नेताहरूले नयाँ पार्टीको नाम र चुनाव चिन्ह के राख्ने भन्नेबारेमा छलफल गरेका थिए।
राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेसँगै नेपाल समूहलाई नयाँ दल बनाउने बाटो खुलेको हो।
अध्यादेशको व्यवस्थाअनुसार पार्टी विभाजन गर्न संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा २० प्रतिशत संख्या पुर्याउनु पर्ने हुन्छ।
प्रतिनिधि सभामा नेकपा एमालेका १२१ जना सांसद छन्। त्यस्तै राष्ट्रिय सभामा ३४ जना सांसद छन्। प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी एमाले संसदीय दलमा एक सय ५५ जना सांसद छन्।
यीमध्ये प्रतिनिधि सभामा वरिष्ठ नेता नेपाल पक्षमा २२ जना सांसद छन्। साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेका २२ जना सांसदले विश्वासको मत दिएका थिए।
प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी एमालेका कूल सांसद १५५ जना छन्। अध्यादेशअनुसार यसको २० प्रतिशत भनेको ३१ जना सांसद हुन्छन्। नेता नेपाल पक्षले आफ्नो पक्षमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी ३४ जना सांसद रहेको दाबी गरेको छ।
यसैबीच नेपाल पक्षका नेताहरू पार्टी दर्ताबारे परामर्श गर्न निर्वाचन आयोग पुगेका छन्। बुधबार दिउँसो सांसद रामकुमारी झाँक्रीसहित नेताहरू आयोग पुगेका थिए।
‘हामी आयुक्तहरूसँग परामर्श गरेर फर्किएका छौं,’ झाँक्रीले भनिन्।
