संसारको ध्यान तानेको एउटा रिदयविदारक कथा

२ भाद्र २०७८, बुधबार १०:०३

एजेन्सी । सोमबार दिउँसो अफगानिस्तानका स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले एउटा भिडिओ पोष्ट गरे। काबुलस्थित हमिद कारजाई विमानस्थलमा अमेरिकी सेनाको कार्गो जहाज उड्न लाग्दा धावनमार्गमा सयौं मानिस दौडिरहेका थिए। कोही बिस्तारै गुडिरहेको जहाजको पखेटामा चढ्न खोज्दै थिए।

केहीबेरमा जहाज टेकअफ भयो र मानिसहरू आकाशबाट खसेको अर्को भिडिओ सार्वजनिक भयो। यी दुबै भिडिओले संसारभरिका मानिसको ध्यान तान्यो। तालिबानहरूले सत्ता कब्जा गरेपछि देश छोड्न आतुर ती अफगानीप्रति धेरैले सहानुभूति जनाए।

त्यो दिन खास के भएको थियो भन्नेबारे अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले समाचार प्रकाशन गरेको छ।

न्युयोर्क टाइम्सका अनुसार उक्त घटनाको अमेरिकी सेनाले अनुसन्धान गरिरहेको छ। मानिसहरू धावनमार्गमा दौडिँदादौडिँदै जहाज उड्दा कति मानिसको मृत्यु भयो भन्ने एकिन छैन।

एयर फोर्सको उक्त जहाजका पाइलटहरूले भने ल्यान्डिङ चक्कामा मान्छेको शरिरका अंग भेटिएको बताएका छन्।

तालिबानहरूले काबुल कब्जा गरेपछि अमेरिकी सेनाले आइतबार र सोमबार काबुल विमानस्थलमा जहाजबारे निर्णय गर्ने अधिकार पाइलटहरूलाई नै दिएको थियो।

आइतबार राति सी- १७ जहाजले आफ्नो क्षमताभन्दा झन्डै दोब्बर मान्छे राखेर काबुलबाट उडान भरेको थियो। अफगानीहरू जहाजभित्र चढिसकेपछि पाइलटले यति त लिन सकिन्छ भनेर उक्त जहाज उडाएका थिए। उक्त जहाजमा झन्डै ६४० जना मानिस खाँदिएको तस्बिर पछि सार्वजनिक भएको थियो।

अघिल्लो राति चढेजति सबैलाई लिएर अमेरिकी सेनाको जहाज उडेपछि विमानस्थलमा पुगेका अफगानीले सोमबार पनि त्यही गर्न खोजे।

ncell in
अर्कोदिन विमानस्थलको सुरक्षामा खटिएका अमेरिकी सैनिकलाई बन्दोबस्तीका सामान लिएर आरइएसिएच८८५ कल साइन भएको अर्को कार्गो जहाज काबुल गयो। जहाज धावनमार्गमा अवतरण नहुँदै मानिसहरू त्यसमा चढ्नका लागि आउन थाले।

केही मिनेटमै सयौं मानिसहरू जहाजभित्र चढ्न खोजे। यो दृश्यले अचम्मित भएका पाइलटहरू जहाजभित्र पसे। अघिल्लो राति के भएको थियो भन्ने उनीहरूलाई थाहा थियो।

सबै सामान राम्ररी झारी नसक्दै उनीहरूले ढोका लगाए। त्यतिबेलासम्म केही मानिसहरू जहाजको पखेटामा चढिसकेका थिए भने केही ल्यान्डिङ ह्विलमा झुन्डिएका थिए।

चालक दलका सदस्यले एयर ट्राफिक कन्ट्रोललाई सम्पर्क गरे। जहाजलाई टेक अफ गर्न अनुमति भएपछि बिस्तारै गुडाउन थाले।

मानिसहरू जहाजसँगै दौडिरहेको थाहा पाएका पाइलटले सुरूमा निकै बिस्तारै जहाज कुदाएका थिए। त्यतिबेलासम्म भिडलाई तितरबितर पार्न सैनिक गाडी आएका थिए भने हेलिकप्टर पनि नजिकै उडाइएको थियो।

 

यसरी जहाजले काबुल विमानस्थलको धावनमार्ग छोड्न सफल भयो। जमिन छोडेको केही मिनेटमै पाइलटहरूले ल्यान्डिङ ह्विल भित्र आउन समस्या भएको महशुस गरे। चालक दलका एक जना सदस्य के भएको रैछ भनेर हेर्न गए। त्यसपछि उनीहरूले थाहा पाए चक्का मान्छेको शरिरका केही भाग अड्किएका रहेछन्। काबुल विमानस्थलको धावनमार्गमा केही मानिस चक्काले किचिएका रहेछन्।

जसोतसो गरी उनीहरू ल्यान्डिङ चक्कालाई भित्र पसाए। चार घन्टापछि उक्त जहाज कतारको अल उडैड एयर बेसमा पुग्यो। जहाज पुग्नुभन्दा पहिला भिडिओ सार्वजनिक भइसकेको थियो। दु:खान्त दृश्य भोगेर आएका चालक दलका सदस्यहरूलाई मनोपरामर्शदाताले भेटे।

‘त्यो घटना कसरी भएको थियो भन्ने बुझ्न सुरक्षा अधिकारीहरू सुक्ष्म ढंगले अध्ययन गरिरहेका छन्,’ अमेरिकी एयर फोर्सकी प्रवक्ता आन स्टेफानेकले भनेकी छन्।