काठमाडौंकाे फोहोर अझै १५ दिन नउठ्ने

१ भाद्र २०७८, मंगलवार १०:०६

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर अझै १५ दिन नउठ्ने भएको छ । फोहोर व्यवस्थापन स्थल नुवाकोटको सिसडोल ल्याण्डफिल साइडमा पुग्ने सडक बिग्रिएकाले फोहोर संकलन गर्न नसकिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । त्यही कारणले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न सडक, चोक र गल्लीमा फोहोर थुप्रिन थालेको छ ।

महानगरको गाडी नआएपछि बासिन्दाले सडकमै फोहोर फाल्न थालेका छन् । महानगरपालिकाको वातावरण विभाग प्रमुख हरि श्रेष्ठले बिग्रिएको सडक बनेपछि मात्रै फोहोर उठ्ने बताउनु भयो । ‘ सडक मर्मत गर्नेक्रम जारी छ’ उहाँले भन्नुयो– ‘बिग्रिएको सडक बनेर फोहोर उठ्न अझै १५ दिन लाग्न सक्छ ।’

सिसडोल ल्याण्डफिल साइडमा फोहोर लैजान नमिलेपछि काठमाडौंको सुन्धारा, पुतली सडक, बागबजार, बानेश्वर, शंखमूल, चावहील र बौद्ध लगायतका सडकमा फोहोरको थुप्रो देखिन थालेको छ । सडकमा फोहोर थुप्रिँदा त्यस वरपर दुगन्ध फैलिएको छ । काठमाडौ उपत्यकामा केही साता यता कोरोना भाइरस संक्रमण बढ्न थालेको छ । कोरोना बढिरहेको बेला सडकमा फोहोर थुप्रिँदा त्यसले मानव स्वास्थ्यमा थप समस्या आउने अवस्था छ ।