
बुटवल । लुम्बिनी प्रदेशमा मन्त्रालय फुटाउने तयारी भइरहेको छ । गठबन्धन सरकारमा मन्त्रीको आकांक्षी धेरै र मन्त्रालय कम भएको कारण फुटाउने तयारी भएको हो ।
लुम्बिनी प्रदेशमा १० मन्त्रालय छ । त्यसलाई फुटाएर १५ बनाउने तयारी भइरहेको गठबन्धनका नेताहरुले बताएका छन् ।
सरकारका प्रवक्ता कृष्णध्वज खड्काले सरकारमा तीन दल सहभागी भएकाले अहिलेको मन्त्रिपरिषद् पहिलेको भन्दा स्वाभाविकरुपमा केही ठूलो आकारको हुने बताउनु भयो । मन्त्रीको संख्या बढ्ने भएकाले केही मन्त्रालय टुक्र्याउनुपर्ने सरकारलाई बाध्यता रहेको छ । कांग्रेस र माओवादीले ४–४ मन्त्री र एक–एक राज्यमन्त्री तथा जसपाले तीनजना मन्त्री पाउने समझदारी भएको स्रोतको दावी छ ।
माओवादी केन्द्रका कुलप्रसाद केसीको नेतृत्वमा साउन २७ गते ६ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । सरकारमा माओवादी केन्द्रसहित नेपाली कांग्रेस र जनता समाजवादी पार्टी सहभागी छन् ।
यस्तै स्वतन्त्र राजनीतिक समूहबाट निर्वाचित नवलपरासीका अजय शाही पनि विना विभागीय मन्त्री बन्नु भएको छ । जसपाका तीनैजना मन्त्री भइसकेकाले अब विस्तार हुने मन्त्रिपरिषदमा माओवादी केन्द्र र नेपाली कांग्रेसबाट थप मन्त्री बन्ने छन् । यसअघि माओवादी केन्द्र संसदीय दलका उपनेता प्युठानका कृष्णध्वज खड्का आर्थिक मामिला तथा योजना मन्त्री, नेपाली कांग्रेसका नेता दाङका डिल्लीबहादुर चौधरी ग्रामीण तथा शहरी विकास मन्त्री र जसपाका सहसराम यादव भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त हुनुभएको छ । जसपाकी सुमन शर्मा रायमाझी र पुरमति ढेंगा विना विभागीय मन्त्री हुनुहुन्छ ।
माओवादी केन्द्र र नेपाली कांग्रेस दुबै पार्टीमा आकांक्षी धेरै भएकाले मन्त्री छान्न सकस भएको छ । यही कारण सरकारले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने रणनीतिमा छ ।विस्तार हुने मन्त्रिपरिषद्मा माओवादी केन्द्रबाट पाल्पाका तुलाराम घर्ती, दाङका इन्द्रजित थारु, दाङकै विमला खत्री वली, बर्दियाका तिलकराम शर्मा र बांकेकी कृष्णा केसी मन्त्री हुने चर्चा भइहेको छ । यी मध्ये विमला वली मन्त्री बन्ने पक्कापक्की जस्तै छ ।
