अफगानिस्तानमा शान्तिपूर्ण सत्ता हस्तान्तरणका लागि पूर्व राष्ट्रपति कारजाइको समन्वयमा परिषद् गठन

३२ श्रावण २०७८, सोमबार १२:१५

काठमाडौं । अफगानिस्तानमा शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणका लागि संमन्वयात्मक परिषद् गठन गरिएको छ । सत्ता हस्तान्तरणका लागि पूर्व राष्ट्रपति हामिद कारजाईले संमन्वयात्मक परिषद् गठन गरिएको जानकारी दिएका छन्।

अफगानिस्तानमा आइतबारदेखि तालिवानले कब्जा जमाएको छ। राष्ट्रपति अशरफ घानी देश छाडेर गएका छन्। कारजाइले आफूसहित तालिबानसँगको शान्ति वार्ताको नेतृत्व गरेको राजनीतिज्ञ अब्दुल्लाह अब्दुल्लाह र गुल्बुद्दिन हेक्मात्यार रहेको परिषद् गठन गरिएको जानकारी दिएका हुन्।

यसअघि आइतबार उनले सामाजिक सञ्जाल ट्वीटरमा भिडियो पोस्ट गरेर सरकारी सुरक्षा बल र तालिबानलाई अफगान नागरिकको सुरक्षालाई पहिलो प्राथमिकता दिन अपिल गरेका थिए। उनले त्यो भिडियोमा आफ्ना तीन छोरीसहित देखिएका थिए।

राष्ट्रपति गनीले देश छोडेर ठूलो खाडल सिर्जना गरेको पनि उनले बीबीसँगबताए छन्। राष्ट्रपति गनीले देश छोडेको थाहा पाउने बित्तिकै आफूले पूर्व नेताहरुसँग छलफल गरेको र अव्यवस्था आउन नदिनका लागि के गर्न सकिन्छ ? भन्ने बारेमा कुरा गरिएको उनले उल्लेख गरेका छन्।

नयाँ सरकारले जनताको मतका आधारमा सत्ता सम्हाल्ने आश गरेको उनले बताएका छन्। अफगानिस्तानमा २० वर्षपछि तालिबान सत्तामा फर्किँदै छ। अमेरिकाले आफ्ना सैनिक पूर्ण रुपमा फिर्ता लैजाने निर्णय गरि सो अनुसार प्रक्रिया थालेको डेढ महिना भित्रै तालिबानले अफगान देशमा आफ्नो नियन्त्रण कायम गरेको हो।

आइतबार बेलुका तालिबान लडाकु राष्ट्रपति कार्यालयमा गएका हुन्। तालिबानले युद्ध अन्त्य भएको घोषणा गरेको छ। उसले नागरिकको ज्यानमा जोखिम नरहेको बताए पनि त्रास अत्यधिक मात्रामा बढेको छ। विशेषगरि महिलाको अधिकारका क्षेत्रमा भएको प्रगति पुनः कमजोर भन्ने भन्दै चासो र चिन्ता व्यक्त गरिएको छ।