
काठमाडौं । काठमाडौं उपत्यकामा केहीदिन यता हरियो तरकारीको भाउ ह्वातै घटेको छ । तरकारीको भाउ अघिल्लो महिनाको तुलनामा २ सय ४० प्रतिशतले घटेको छ ।
काठमाडौं उपत्यकामा भिभिन्न ठाउँबाट प्रयाप्त मात्रामा तरकारी आइरहेको तर खपत भने नभएको कारण मूल्य घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका अनुसार हरियो तरकारीको खपत बढी हुने होटेल, रेस्टुराँ, पार्टी प्यालेस लगायत स्थानहरू बन्द भएकाले पनि खपत घटेको छ । निषेधाज्ञापछि कालीमाटीमा तरकारीको आयात बढेकाले मूल्य घटेको हो ।
तितेकरेला, लौका, फर्सी, काँक्रो, भिन्डीलगायत तरकारीको मूल्य निकै घटेको छ । गएको असार ३० गते प्रतिकिलो ८५ रुपैयाँ थोक मूल्य रहेको तितेकरेलाको मूल्य १ महिनाको अवधिमा २ सय ४० प्रतिशतले घटेर प्रतिकिलो २५ रुपैयाँ कायम भएको छ । यसअघि प्रतिकिलो १ सय १५ रुपैयाँ रहेको घिउ सिमीको मूल्य २ सय २८ प्रतिशतले घटेर प्रतिकिलो ३५ रुपैयाँ पुगेको छ । ७५ रुपैयाँ किलोमा विक्री भइरहेको घिरौंलाको मूल्यमा पनि करीब २ सय प्रतिशतले गिरावट आउँदै प्रतिकिलो २५ रुपैयाँमा विक्री भइरहेको छ । तनेबोडी, भिन्डी, लौका, चिचिन्डो, सेतोमुला, स्कुसकाे पनि मूल्य घटेकाे छ । यस अवधिमा तनेबोडीको मूल्य करिब १ सय १५ प्रतिशतले घटेर प्रतिकिलो ७५ रुपैयाँबाट ३५ रुपैयाँ पुगेको छ ।
त्यसैगरी भिन्डीको मूल्य पनि करिब १ सय ३० प्रतिशतले घटेर प्रतिकिलो ५५ रुपैयाँबाट २४ रुपैयाँ कायम भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार व्यवसायी समितिका अध्यक्ष गीताप्रसाद आचार्यका अनुसार निषेधाज्ञाका बेलामा भन्दा अहिले कालीमाटीमा तरकारीको अयात करिब दोब्बरले बढेको छ । आयात बढी र खपत कम भएकाले मूल्यम घटेको आएको उहाँले बताउनुभयो ।
