कोरोना कहरमै विदेशबाट कसरी आयो ९ खर्ब ६१ अर्ब ?

३१ श्रावण २०७८, आईतवार ०९:१७

काठमाडौं । कोरोना भाइरस संक्रमणले सबै क्षेत्र तहसनहस भइरहेकै बेला नेपालमा ९ खर्ब ६१ अर्ब रुपैयाँ भन्दा बढी रेमिट्यान्स भित्रिएको छ ।

गत आर्थिक वर्षमा विदेशमा रहेका नेपालीले ९ खर्ब ६१ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स पठाएको अर्थ मन्त्रालयले जनाएको छ । उल्लेखित रेमिट्यान्स अघिल्लो वर्षको तुलनामा ९ दशमलव ८ प्रतिशतले बढी हो । मन्त्रालयका अनुसार आर्थिक २०७६,०७७ मा नेपालमा ८ खर्ब ७५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । गत वर्ष नेपालमा भित्रिएको रेमिट्यान्स वार्षिक रुपमा हालसम्म कै उच्च हो ।

नेपालीहरु रोजगारी र अन्य सिलशिलामा विभिन्न मुलुकमा रहेको कारण केही दशक यता नेपालको कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी)मा रेमिट्यान्सको ठूलो योगदान रहँदै आएको छ । जीडीपीको अनुपातमा भने गत वर्षको रेमिटयान्स आप्रवाह अघिल्लो वर्षकै बराबर हो । अघिल्लो आर्थिक वर्षमा नेपालमा भित्रिएको रेमिटयान्स जीडीपीको अनुपातमा २२ दशमलव ४ प्रतिशत मात्रै हो । मुलुकमा ५ वर्षयता जीडीपीको तुलनामा रेमिट्यान्स अनुपातमा खासै परिवर्तन आएको छैन । यस्तो अनुपात हरेक वर्ष औसत २२ देखि २२ दशमलव ५ प्रतिशतबीचमा छ । यसलाई विज्ञहरुले रेमिट्यान्समा आएको गतिहीनता ठान्छन् ।

दुई दशकयता रेमिट्यान्सको प्रवृति हेर्दा पछिल्ला केही वर्ष यता गतिहीन भएको नेपाल राष्ट्र बेंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा बताउनु हुन्छ । ‘४,५ वर्षअघिसम्म रेमिट्यान्सले नागरिकको आयआर्जन वृद्धि गर्न, गरिबी निवारण गर्न, शिक्षा र स्वास्थ्यमा सुधार गर्न मद्धत पुगेको थियो’ उहाँ भननुहुन्छ– ‘तर पछिल्लो वर्षमा रेमिट्यान्सले भने त्यति सघाएको छैन । उदाहरणका लागि जीडीपीको अनसपातमा रेमिट्यान्सलाई हेर्न सकिन्छ, जुन ५ वर्षयता स्थिर छ ।’