सामान्य बढ्यो एनआईसी एशियाको नाफा, कर्जा निक्षेपमा आकर्षक सुधार

३० श्रावण २०७८, शनिबार ११:४१

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा सामान्य बढेको छ।

असार मसान्तसम्ममा बैंकले ३ अर्ब २५ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.९२ प्रतिशत बढी हो।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २१.३४ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३५.०४ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ८.२१ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा १ अर्ब ११ करोड ३७ लाख रुपैयाँबाट बढेर १ अर्ब १९ करोड ३४ लाख रुपैयाँ पुगेको छ।

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९२ करोड १७ लाख रुपैयाँ रहेको छ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ७७ पैसा घटेर २८ रुपैयाँ ११ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३५.३६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ रहेको छ।

गत आर्थिक वर्षमा १९ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी बढाएको बैंकको जगेडा कोष समीक्षा अवधिमा २१.३१ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ४२.२५ प्रतिशत र कर्जा ५५.३३ प्रतिशत बढेको छ।