
काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो तर्फबाट सरकारमा पठाउनेहरुको नाम आज छिनोफानो गर्ने भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पाटीेको समर्थनमा बनेको गठनबन्धन सरकारमा माओवादीको भागमा ६ मन्त्री परेको छ । त्यसमध्ये जर्नादन शर्मा अर्थ र पम्फा भुसाल उर्जा मन्त्री भइसक्नु भएको छ । गठनबन्धनको पूर्व शर्त अनुसार माओवादीले अब ४ मन्त्री पाउने छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले माधवकुमार नेपाल पक्षलाई ८ मन्त्रालय दिने सहमति गर्नुभएको थियो । तर एमाले एकताको प्रयासमा रहेको र पार्टीले प्रतिपक्षमा बस्ने निर्णय गरेको कारण माधवकुमार नेपाल पक्ष सरकारमा जाने संम्भावना देखिएको छैन । उता माओवादी केन्द्रमा मन्त्रीको आकांक्षीहरु बढी भएको कारण अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरकारमा पठाउनेहरुको नाम टुंग्याउन हम्मेहम्मे परिरहेको छ । देउवा प्रधानमन्त्री बन्नुभएको एक महिना भइसकेको छ । तर प्रधानमन्त्रीले मन्त्रीमण्डललाई पूर्णता दिन सक्नु भएको छैन । माधवकुमार नेपाल पक्ष सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे अनिश्चित भएको तथा माओवादी केन्द्र र जसपाले पनि सरकारमा पठाउनेको सूची तय नगर्दा मन्त्रीमण्डलले पूर्णता नपाएको हो ।
माओवादी अध्यक्ष दाहालले यदि माधवकुमार नेपाल पक्ष सरकारमा सहभागी नहुने हो भने त्यसमा कांग्रेस, माओवादी र जसपालाई भागबण्डा गर्न प्रधानमन्त्री देउवालाई सुझाव र दवाब दिँदै आउनु भएको स्रोत बताउँछन् । तर प्रधनमन्त्री देउवाले भने अध्यक्ष दाहाललाई आफ्नो भागमा परेको बाँकी ४ जनाको नाम मात्र पठाउन दबाब दिनुभएको छ । तर मन्त्रीको आकांक्षी बढी हुँदा अध्यक्ष दाहाललाई ४ जनामा कसकसलाई पठाउने ? भन्ने समस्या परिरहेको छ । अध्यक्ष दाहालले एमाललेका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्राय दिनहुँ भेटेर सरकारमा सहभागी हुन आग्रह गरिरहुनु भएको अध्यक्ष दाहालले नेता नेपाललाई यदि तपाईहरु सरकारमा सहभागी नहुने हो, सरकारमा जान अप्ठ्यारो छ भने तपाईहको भागमा परेको ८ जनाको कोटामा पनि माओवादी केन्द्रकै साथीहरुलाई नै पठाउँ भनेर फकाईफुलाई गर्नुभएको स्रोत बताउँछ । तर नेता नेपालले अहिले सरकारमा जाने भन्दा पनि मुख्य कुरा संविधान जोगाउने र राज्यका हरेक संयन्त्रलाई सही ढंगले परिचालन गर्नुपर्ने अवस्था छ, हामीबीचको सहकार्य त्यसैको लागि हो भन्दै दाहालको मागप्रति त्यति चासो नलिने गरेको स्रोतको भनाई छ ।
सरकारमा पठाउनेहरुको नाम छिनोफानो गर्न कठिन भइरहेको बेला माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि उपत्यकामा शुरु हुँदैछ ।बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समसामयिक राजनीतिक एवं साङ्गठनिक प्रतिवेदन पेश गर्ने जनाइएको छ । प्रस्तावमा अध्यक्ष प्रचण्डले आगामी कार्यक्रम र योजना पेश गर्ने पनि जनाइएको छ । बैठकमा सरकारमा पठाउनेहरुबारे पनि छलफल हुने स्रोतले जनाएको छ ।
माओवादी केन्द्रले वर्तमान गठबन्धन सरकारलाई सफल बनाउन आफ्नोतर्फबाट अधिकतम प्रयास गर्ने भएको छ । यसअघि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी समितिको बैठकमा अध्यक्ष दाहालले पार्टी सरकारलाई सफल बनाउने गरी परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
