
काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनबारे छलफल गर्न शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा नेताहरुबीच चर्काचर्की भएको छ । क्रियाशील सदस्यता विवाद र महाधिवेशनबारे संस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुबीच चर्काचर्की भएको हो ।
पूर्वमन्त्री डा. रामशरण क्रियाशील सदस्यता वितरणमा संस्थापन पक्षले धाँधली गरेको आरोप लगाएपछि सभापति शेरबहादुर देउवाले उहाँलाई बोल्दै बीचमै रोक्ने प्रयास गर्नुभएको थियो । कार्यतालिका आजै ल्याउनुपर्नेमा जोड दिनुभएको छ ।
सभापति देउवाको बूढानीलकण्ठसिथत निवासमा भएकाे बैठकमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले महाधिवेशनको कार्यतालिका आजै सार्वजनिक गर्नेपर्नेमा जाेड दिनुथयो । ,‘कार्यतालिका ल्याउनुस्, हामी त्यसलाई पास गर्छौं’ बैठकमा उहाँले भन्नुभयो, ‘आज रातिसम्म बसेर भए पनि टुंगो लाउनुपर्छ। ढिलो गर्न हुँदैन। निर्देशिका पनि टुंगो लगाउँ, कार्यतालिका पनि पास गरौं।’
मन्त्रिपरिषद् विस्तार हुन नसक्दा पनि राम्रो सन्देश नगएको उहाँको भनाइ छ। १४ औं महाधिवेशनको संघारमा रहेको कांग्रेसभित्र क्रियाशील सदस्यताको विवाद छ। विवाद समाधानका लागि नेता रमेश लेखकको संयोजकत्वमा गठित समितिले विवाद पूर्ण रुपमा नमिलाइकनै केन्द्रीय समितिमा प्रतिवेदन बुझाएको थियो।
क्रियाशील सदस्यता विवादकै कारण तोकिएको मितिमा महाधिवेशन नहुने निश्चित भइसकेको छ। यद्यपि, नयाँ कार्यतालिका भने सार्वजनिक भएको छैन। सभापति देउवासहित शीर्ष नेताहरु महाधिवेशन सार्नुपर्ने निष्कर्षमा पुगिसकेका छन्।
केन्द्रीय सदस्यहरुबाट धारणा लिएर केन्द्रीय सदस्यले नयाँ कार्यतालिका तय गर्ने बताइएको छ। आजकै बैठकमा नेता शेखर कोइरालाले दुई महिनाभित्र क्रियाशील सदस्यताको विवाद टुंग्याएर महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन्। ‘छिटोभन्दा छिटो क्रियाशील सदस्यताको समस्या टुङ्याएर डेढ–दुई महिनाभित्र महाधिवेशन सम्पन्न गरिनुपर्छ,’ उहाँले भन्नुभयो।
जारी केन्द्रीय समिति बैठकमा क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन माथि छलफल भइरहेको छ। हिजो बिहीबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विभिन्न जिल्लामा विवाद सिर्जना गरेको आरोप लगाएको थियो। बैठकमा केन्द्रीय सदस्यहरूले विभिन्न जिल्लामा क्रियाशील सदस्यताका नाममा विवाद सिर्जना गर्ने तर दोष अर्कैलाई थोपर्ने भन्दै पौडेललाई आरोप लागेको हो।
