अरुण भ्याली हाइड्रोपावर (AHPC) को खुद नाफा सामान्य बढ्यो

२९ श्रावण २०७८, शुक्रबार १४:०८

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (AHPC) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी घटेको छ भने खुद नाफा बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ८ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.६१ प्रतिशत बढी हो।

विद्युत बिक्री आम्दानी घटेपनि अन्य स्रोतबाट हुने आम्दानी बढेसँगै कम्पनीको नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २२.५६ प्रतिशत घटेर ५ करोड ३६ लाख रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको कुल नाफा १.८५ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ६.५८ प्रतिशत घटेको छ। समीक्षा अवधिमा कम्पनीको कुल खर्च २०.८४ प्रतिशत घटेको छ।

खुद नाफा सामान्य बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ८७ पैसा घटेर ५ रुपैयाँ १४ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ २३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९२.५१ गुणा रहेको छ।