
बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले बिहीबार नै मन्त्रिपरिषद विस्तार गर्न लाग्नु भएको छ । मुख्यमन्त्री केसीले नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरूलार्ई समेटेर मन्त्रीमण्डल बिस्तार गर्न लाग्नु भएको हो । ।
कांग्रेसबाट डिल्लीबहादुर चौधरी, नेकपा माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जनता समाजवादी पार्टीबाट सहसराम यादव, पुरमती ढेंगा र सुमन शर्मा रायमाझी र अजय शाही मन्त्री बन्नुभएको छ । चौधरी शहरी तथा ग्रामीण विकास र सहसराम यादवले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
अन्य मन्त्रीहरुलाई भने अहिलेसम्म जिम्मेवारी तोकिएको छैन । स्वतन्त्र राजनीतिक समूहका अजय शाही लाई समेत मन्त्री बनाउने तयारी भइरहेको स्रोतले जनाएको छ । मुख्यमन्त्री र मन्त्रीहरुले बिहीबार नै शपथ ग्रहण गर्ने तयारी भइरहेको छ । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीका ६ सांसदमध्ये शंकर पोखरेलको मन्त्रिपरिषदमा सहभागी भएको भन्दै पार्टीले निष्कासन गरेपछि अब ३ जना मात्र सांसद बाँकी छन् । सांसद रायमाझी पहिले पोखरेलको मन्त्रिपरिषदमा सहभागी भएपनि राजीनामा दिएर बाहिरिनु भएको थियो ।
स्वतन्त्र राजनीतिक समूहको नामबाट सूर्य चुनाव चिह्न लिएर निर्वाचनमा विजयी भएका लुम्बिनी प्रदेशसभामा दुई सांसद छन् । त्यो समूहले यसअघि पोखरेल नेतृत्वको सरकारलाई साथ दिएको थियो र सांसद धर्मबहादुर लाल श्रीवास्तव सरकारमै सहभागी हुनुभएको थियो । अहिले त्यही समूहका अर्का सांसद शाही केसी नेतृत्वको मन्त्रिपरिषदमा सहभागी हुनुभएको छ ।
