देउवा निवासमा भित्र बैठक, बाहिर युवाको प्रदर्शन

२८ श्रावण २०७८, बिहीबार १४:२४

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले सभापति शेरबहादुर देउवाको निवास अगाडि प्रदर्शन गरेका छन् । कांग्रेसका नेता तथा कार्यकर्ताले १४ औ महाधिवेशन यसअघि तोकिएको समयभित्रै गराउन माग गर्दै बिहीबार सभापति देउवाको बूढानिलकण्ठस्थित निवास अगाडि प्रदर्शन गरेका हुन् ।

पार्टीको विधानअनुसार देउवाको सभापति कार्यकाल भदौ २३ गते सकिँदैछ। १४ औं महाधिवेशन सभापतिको कार्यकाल नसकिँदै हुनुपर्ने नेता तथा युवाहरुको माग छ । उनीहरूले नेपालको संविधान र पार्टी विधान सभापति देउवासहित शीर्ष नेतालाई बुझाउने कार्यक्रम छ।

सभापनि देउवा प्रधानमन्त्री बनेपछि बालुवाटारस्थित सरकारी निवासमा बस्नु भएको छ । बालुवाटार निवासमा बसे पनि पाटीेको बैठक भने प्राय बुढानिलकण्ठ स्थित निवासमा हुने गरेको छ । देउवा निवासमा आज कांग्रेसको केन्द्रीय समिति बैठक छ। बैठकमा भाग लिन नेताहरू बूढानिलकण्ठ गइरहेका छन्। देउवा निवास बाहिर कांग्रेस नेताहरूले प्लेकार्ड लिएर प्रदर्शन र कोण सभा गरेका छन्।

समयसीमाभित्रै महाधिवेशन सुनिश्चित गर्न दवाव दिन प्रदर्शन गरिएको नेता रञ्जित कर्णले जानकारी दिनुभयो। समायोजनका नाममा क्रियाशील सदस्यताको धाँधली बन्द गर्नुपर्ने प्रदर्शनकारीको माग छ।