शेयर कारोबार अहिलेसम्मकै उच्च बिन्दुमा

२७ श्रावण २०७८, बुधबार १६:०५

काठमाडौं । शेयर कारोबार परिसूचक नेप्से बुधबार अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।  शेयर १५ अर्ब रुपैयाँ बराबरको  कारोबार भएर मंगलबारकाे रेकर्ड ताेड्दै  उच्च बिन्दुमा पुगेकाे हाे ।

बुधबार २३० वटा कम्पनीको २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता शेयर १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७५४ रुपैयाँमा खरिद बिक्री भएको छ। मंगलबार केही करेक्सन देखिएको हाइड्रोपावर कम्पनीहरुको बुधबार पुनस् लगानीकर्ताको आकर्षण देखिएको छ। यस दिन उच्च रुपले बढ्ने कम्पनीमा धेरैजसो हाइड्रोपावर कम्पनी परेका छन्। हाइड्रोपावर उपसमूहको सूचक समेत सबैभन्दा धेरै ३ दशमलव ९२ प्रतिशतले बढेको छ।

बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये ५ उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने बाँकी ८ उपसमूहको सूचक नकारात्मक देखिएका छन्। बुधबार रुरु लजविद्युत, रिद्धि हाइड्रोपावर, आइसिएफसि फाइनान्स, जिवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने एनआएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ९ दशमलव ९९ प्रतिशत र अरुण कावेली हाइड्रोपावरको ९ दशमलव ७८ प्रतिशतले बढेको छ।

यता जेविल्स फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ४ दशमलव १७ प्रतिशतले घटेको छ भने जलविद्युत लगानी तथा विकास कम्पनीको ३ दशमलव ३९ प्रतिशत, गोर्खाज फाइनान्सको ३ दशमलव १६ प्रतिशत, बेष्ट फाइनान्सको ३ दशमलव १६ प्रतिशत र एक्सेल डेभलपमेन्ट बेंकको ३ दशमलव १३ प्रतिशतले घटेको छ।।