
काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले कोरोना भाइरस विरुद्धको खोप खिरिको लागि नेपाललाई १९ अर्ब ५८ करोड रुपैयाँ बराबरको पूर्ण ऋण उपलब्ध गराउने भएको छ । नेपाल सरकार र एडीबीबीच बुधबार ऋण सम्झौता भएको छ ।
अर्थ मन्त्रालयमा बुधबार नेपाल सरकारको तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र एशियाली विकास बैंकका कन्ट्री डाइरेक्टर आनो कुस्वाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । यो ऋण सहायताले १ करोड ५९ लाख डोज कोभिड विरुद्धको खोप खरिद गरी नेपाल सरकारको राष्ट्रिय खोप योजनालाई सहयोग पुग्नेछ । यसबाट ६८ लाख जनसंख्या लाभान्वित हुनेछन् ।
कार्यक्रममा अर्थसचिव मरासिनीले नेपाललाई सुरक्षित र प्रभावकारी खोपको उपलब्धताको सुनिश्चितताको लागि एशियाली विकास बैंकको यो सहायता महत्वपूर्ण हुने उल्लेख गर्दै खोप अभियानले नागरिक जीवनको सुरक्षा गरी अर्थतन्त्रको पुनरुत्थानमा मद्दत पु¥याउने विश्वास व्यक्त गनूभयो ।
उहाँले खोप कार्यक्रम सरकारको उच्च प्राथमिकताको विषय भएको जानकारी गराउँदै यसमा एशियाली विकास बैंकको ऋण सहायताले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
एडीबीका कन्ट्री डाइरेक्टर कुस्वाले यो सम्झौताले कोभिड १९ को चक्र तोडेर नागरिक जीवनको रक्षा गरी आर्थिक एवं सामाजिक पुनरुत्थानतर्फ अघि बढ्न सहयोगीसिद्ध हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कोभिड १९ संक्रमणबाट सार्वजनिक स्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रमा परेको असर व्यवस्थापन गर्न नेपाल सरकारलाई बैंकले पु¥याइरहेको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने आश्वासन समेत दिनुभएको छ ।
यस बाहेक एशियाली विकास बैंकबाट परिचालित प्राविधिक सहायताले खोप वितरणलाई प्रभावकारी बनाउने र सञ्चार तथा सामुदायिक सहभागितालाई बढावा दिँदै कोभिड १९ विरुद्ध जनचेतना फैलाउन सहयोग पुग्ने विश्वास सरकारले लिएको छ ।
