कांग्रेस महाधिवेशन फेरि सर्ने ! परामर्श गर्दै सभापति देउवा

२७ श्रावण २०७८, बुधबार १४:२१

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन फेरि सर्ने भएको छ । आउँदो भदौ १६ गतेदेखि १९ गतेसम्मका लागि तोकिएको महाधिवेशन सार्न सभापति शेरबहादुर देउवाले पार्टीका विभिन्न नेताहरुसँग छलफल थाल्नु भएको छ ।

दुई वर्षअघि फागुनमा हुनुपर्ने कांग्रेस महाधिवेशन विभिन्न कारणले सर्दै आएको छ । पार्टीको आन्तरिक विवादका कारण सभापति देउवाले विधानको अधिकार प्रयोग गर्दे महाधिवेशन १ वर्ष लम्याउनु भएको थियो । त्यसपछि गएको फागुनमा हुनुपर्ने महाधिवेशन कोरोना भाइरस संक्रमणको कारण फेरि विभिन्न पटक सारेर भदौ १६ गतेदेखि १९ गतेसम्मका लागि तय गरिएको हो ।

कांग्रेस महाधिवेशनलाई पछिल्लो पटक कोरोना संक्रमणले भन्दा क्रियाशील सदस्यता विवादले सताएको छ । कांग्रेसले अहिले क्रियाशील सदस्यता विवादकै कारण महाधिवेशन केही महिना पर धकेल्न खोजेको हो । बिशेष गरी सभापति देउवाले महाधिवेशन फेरि सार्न चाहनु भएको उहाँ निकट नेताहरूकाे बुझाई छ । तर वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा शशांक कोइराला पक्षले भने महाधिवेशन सार्न नहुनेमा जोड दिँदै आउनु भएकाे छ।

वरिष्ठ नेता पौडेलले महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म गर्न नसके पार्टीको वैधानिकतामा समस्या आउने बताउँदै आउनु भएको छ । तर देउवा पक्षका केही नेताहरुले भने नेकपा एमाले र माओवादी केन्द्रलाई उदाहारण दिँदै कम्युनिष्टले समयमा गर्न नसक्दा पनि पार्टी वैधानिक हुने तर कांग्रेस भने अवैधानिक हुने भन्दै देउवालाई महाधिवेशन सार्न दबाब दिइरहेको स्रोत बताउँछ । आफ्नो पक्षका नेताहरुले महाधिवेशन सार्न दबाब दिएपछि सभापति देउवाले त्यसबारे छलफल थाल्नु भएको हो ।

सभापति देउवाले यसबारेमा छलफल गर्न वरिष्ठ नेता पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई  आज आफ्नो निवास बूढानिलकण्ठ बोलाउनुभएको छ । बूढानिलकण्ठ स्थित निवासमा दिउँसो साढे २ बदेखि सभापति देउवा, वरिष्ठ नेता पौडेल र पूर्व महामन्त्री सिटौला लगायतसँग देउवाले छलफल गर्नुहुने भएको छ ।