‘जस्केलाबाट होइन, फेरि मूलढोकाबाटै प्रधानमन्त्री बन्छु’

२६ श्रावण २०७८, मंगलवार १४:३०

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बन्ने दाबी गर्नुभएको छ । एमाले अध्यक्ष ओलीले मंगलबार प्रतिनितिसभा बैठकमा प्रमुखप्रतिपक्ष दलको नेताको हैसियतमा सम्बोधन गर्दै घुमाउरो पारामा त्यस्तो दाबी गर्नुभएको हो ।

‘म यो देश र यस देशका जनताको सेवाको निम्ति जन्मिएको जस्तो लाग्छ । म प्रधानमन्त्री बन्न जन्मिएको होइन । काम गर्दै जाँदा भएँ’ ओलीले भन्नुभयो ‘म ६४ वर्षसम्म त प्रधानमन्त्री थिइनँ । भइयो । प्रधानन्त्रीबाट हट्दा भनेको थिएँ । म जस्केला, झ्याल वा भेन्टिलेसनबाट होइन, मूल ढोकाबाट फेरि आउनेछु । फेरि पनि सुनिराख्नुभए हुन्छ । असाधारण जनमतका साथ मूलबाटो, मूल गेट मूल ढोकाबाट फेरि पनि प्रवेश गर्छु ।’

ओलीले जनचाहना अनुसार प्रधानमन्त्री बनेको बताउनु भयो । ‘मलाई राम्रो ग्रहदशाले प्रधानमन्त्री बनाएको होइन । मेरा काम हेरेर जनताले मत दिएर हो । म विभिन्न नेताका महत्वाकांक्षा, ईर्श्‍या, जलन आदिको समिश्रणबाट पनि प्रधानमन्त्री भएको होइन’ उहाँले भन्नुभयो– ‘उछिट्टएर प्रधानमन्त्री पद मेरो भागमा आएको होइन । जाली मुद्दा जितेर प्रधानमन्त्री भएको होइन । म परमादेशबाट होइन जनदेशबाट भएको हो । र, प्रधानमन्त्रीबाट हट्दा मलाई कुनै चिन्ता छैन ।’