आजसम्म एमालेमा प्रवेश गरेको छैन – टोपबहादुर रायमाझी

१३ श्रावण २०७८, बुधबार १७:०२

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी सदस्यसमेत रहेका टोपबहादुर रायमाझीले आफू अहिलेसम्म एमालेको सदस्य नरहेको दाबी गरेका छन् । सर्वोच्च अदालतमा उनले दायर गरेको रिटमा भनिएको छ, “केपी ओलीले नेतृत्व गरेको वहाँ अध्यक्ष भएको नेकपा एमालेका आजसम्म म निवेदक औपचारिकरुपमा प्रवेश गरेको छैन । एमालेको पार्टीको सदस्यता लिएको छैन । मिति २०७८ असार २३ मा म निवेदकले निर्वाचन आयोगबाट निवेदन गरी निकालेको प्रतिलिपिअनुसार नेकपा एमाले केन्द्रीय कमिटीको सदस्यमा म छैन ।

नेकपा माओवादी (एकता केन्द्र) को केन्द्रीय समिति सदस्यमा रहेको छु । सो दुवै दलको कार्य समितिको प्रमाणित प्रतिनिधि यसै निवेदन साथ पेश गरेको छु ।” उनले आफूलाई माओवादीले कारबाही गर्दा कुनै स्पष्टीकरणसमेत नसोधेको बताएका छन् । उनले आफूले सफाईको मौकासमेत नपाएको दाबी गरेका छन् । रायमाझीसहित चार सांसदले पुनर्वहालीको माग गर्दै सर्वोच्चमा बुधबार रिट दायर गरेका छन् । रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरुलाई पुनर्वहाली गर्न माग गरेका छन् ।