तीन जना मिलेर इटहरीमा एक व्यक्तिको अपहरण : लागुऔषधको प्रभाव

९ श्रावण २०७८, शनिबार १२:३५

 

काठमाडौं । आफ्नै साथीलाई अपहरण गरेर बन्धक बनाएको अभियोगमा सुनसरी प्रहरीले इटहरीबाट तीन जनालाई पक्राउ गरेको छ।

इटहरी उपमहानगरपालिका-७ का २५ वर्षीय संगीत थापा, १९ वर्षीय अनिष कार्की र वडा नम्बर ८ का २३ वर्षीय सिद्धार्थ राईलाई प्रहरीले पक्राउ गरेको हो।

इटहरी-४ का २२ वर्षीय निर्मल श्रेष्ठलाई अपहरण गरेको आरोपमा प्रहरीले यी तीन युवालाई शुक्रबार पक्राउ गरेको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए।

श्रेष्ठलाई बिहीबार दिउँसो १ बजे उनीहरूले इटहरी-९ भोजपुरे होटलबार जबरजस्ती उठाएर लगेका थिए।

उनलाई इटहरी-८ को फुलबारी टोलको प्लटिङमा लगेर कुटपिट गरिरहेको सूचनाका आधारमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

‘आँखामा कालोपट्टी बाँधेर नम्बर थाहा नभएको अटोमा राखेर आफूलाई संगीत थापाको कोठामा रातभर राखेको पीडितले बताएका छन्,’ थपाले भने।

थापाको कोठामा रातभरि राखेपछि शुक्रबार बिहान उनीहरूले श्रेष्ठलाई प्लटिङ क्षेत्रमा लगेर कुटपिट गरेको थाहा भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तिनै जनालाई अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतबाट थुनामा राख्न अनुमति लिइएको थापाले बताए।

प्रहरी उपरीक्षक थापाका अनुसार चारै जनाबीच लागुऔषधको विषयमा विवाद थियो। उनीहरू लागुऔषध प्रयोगकर्ता रहेको बुझिएको छ।

श्रेष्ठलाई आरोपी तीन जनाले लागुऔषध खरिदका लागि केही समयअघि पैसा दिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

तर, पैसा लिएर गएका श्रेष्ठले लागुऔषध ल्याएनन्। कोभिड-१९ का कारण बुवाको मृत्यु भएपछि उनीहरूले दिएको पैसा पनि श्रेष्ठले सकाए।

‘त्यसपछि उनीहरूले श्रेष्ठलाई लागुऔषध र पैसाको बारेमा सोधीखोजी गर्दै अपहरणसम्म गरेको पाइएको छ,’ थापाले भने।