देशै छाडेर हिँडेका राजालाई काँग्रेसले फर्कायो, राजतन्त्रबारे त्यहाँ अझै विवाद छ

७ श्रावण २०७८, बिहीबार १६:०६

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र मान्ने वा नमान्ने सन्दर्भमा नेपाली कांग्रेसमा अझै विवाद रहेको दाबी गरेका छन् । आफूलाई लोकतान्त्रिक पार्टी ठान्ने काँग्रेसले विगतमा संवैधानिक राजतन्त्रलाई आदर्श मानेर हिँड्नु आश्चर्यजनक रहेको ओलीको टिप्पणी थियो ।

पुष्पलाल स्मृति दिवसका अवसरमा बोल्दै ओलीले जन्मसिद्ध श्रेष्ठतालाई मान्ने कार्य कहिल्यै लोकतान्त्रिक नहुने बताए । ‘मित्र शक्तिहरूलाई एक्ल्याउन खोज्ने, अनेकथरी षड्यन्त्रकारी नन्दी भ्रिंगीसँग सहकार्य गर्ने कांग्रेसको नीति २००७ सालदेखिकै हो । आजको नीति पनि त्यही हो । लोकतन्त्र ल्याउन बलिदान गरेर आएको शक्तिसँग सहकार्य गर्न तयार नहुने, लोकतन्त्रविरोधी शक्तिसँग सहकार्य गर्ने कांग्रेसको नीति हो,’ उनले भने ।

‘लोकतन्त्र तथ्यहीन सामन्तवादसँग सम्झौता गर्ने सिद्धान्त होइन । लोकतन्त्र जनताको तन्त्र, जनता सार्वभौम रहेको तन्त्र हो,’ ओलीले भने,‘ कुनै परिवारमा जन्मेको आधारमा शासक छानिनु नपर्ने हो, तर, नेपाली कांग्रेसले त्यो ग¥यो । नेपाली कांग्रेसले संवैधानिक राजतन्त्रलाई हिजो–अस्तिसम्म आफ्नो आदर्श बनायो । आज पनि त्यहाँ राजतन्त्रबारे विवाद चलिरहेकै छ ।’