कोरोनाविरुद्धको अमेरिकी खोप लगाउन शुरु, प्रधानमन्त्रीबाट खोप केन्द्रहरुको अनुगमन

४ श्रावण २०७८, सोमबार ११:३१

 

 

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाउने कार्यको शुभारम्भ गर्नुभएको छ ।काठमाडौंको जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर खोप कार्यक्रमको थालनी गर्नुभएको हो।

अमेरिकी खोप कार्यक्रम थालनी कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी पनि उपस्थित हुनुहुन्थ्यो । यसका साथै प्रधानमन्त्री देउवाले नागरिकलाई खोप लगाउने केन्द्रहरुको पनि अनुगमन गर्नुभएको छ ।

अमेरिकाले नेपाललाई एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप उपहारमा उपलब्ध गराएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपाङ्गता भएका क र ख वर्गको परिचय पत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मीलगायतलाई दिइने छ ।