
काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहान सरकारी निवास बालुवाटार सरे। उनी ९:५७ को साइतअनुसार बालुवाटार प्रवेश गरेका थिए।
गत मंगलबार प्रधानमन्त्री नियुक्त भएका देउवा निजी निवास बूढानिलकण्ठ नै बसोबास गर्दै आएका थिए।
बुधबार निवर्तमान प्रधानमन्त्री, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार छाडेर बालकोटस्थित निजी निवास सरेका थिए।
‘दिउँसो २ बजे बालुवाटारमा बैठक हुने खबर आएको छ,’ कांग्रेसका एक पदाधिकारीले सेतोपाटीसँग भने। देउवा बालुवाटार आएको चार घन्टापछि पार्टी बैठक त्यहीँ बस्ने तयारी छ। आजको बैठकमा १४ औं महाधिवेशनबारे छलफल हुनेछ। क्रियाशील सदस्यता छानबिनका लागि दिएको समय सकिँदासम्म विवाद समाधान भइसकेका छैनन्।
कांग्रेसले साउन १२ गतेदेखि वडा अधिवेशन गर्ने भनेको छ। त्यसअघि नै क्रियाशीलको नामावली सभापति देउवाले केन्द्रीय निर्वाचन समितिलाई बुझाउनुपर्ने हुन्छ।कांग्रेसमा तल्ला तहका अधिवेशनको कार्यतालिका केही हेरफेर गर्नुपर्ने आवाज उठेको छ तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले त्यसको विरोध गर्दै पूर्वनिर्धारित समयमै अधिवेशन हुनुपर्ने अडान राखेका छन्।
