लुम्बिनीमा मुख्यमन्त्रीबाटै सदन बहिष्कार, बजेट फेल हुने डरले रातारात संसद अधिवेशन अन्त्य

१ श्रावण २०७८, शुक्रबार ०९:२९

 

काठमाडौं । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन मध्यरातमा अन्त्य गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले गए राति १२ बजेदेखि प्रदेश सभाको चालु आठौं अधिवेशन अन्त्य गर्नुभएको हो ।प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरन्जीवि पौडेलले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम गएराति १२ बजेदेखि अधिवेशन अन्त्य भएको जानकारी विज्ञप्तिमार्फत् दिनु भएको छ ।

यसअघि हिजो आर्थिक वर्ष २०७८/०७९ को बजेट पारित गर्न निर्णायार्थ पेश गर्नु पहिले सत्तापक्षका सांसदहरू प्रदेश सभा बैठक बहिस्कार गरेका थिए । बजेटमाथि प्रदेश सभा सदस्यहरूले राखेका प्रश्नको विभागीय मन्त्री र मुख्यमन्त्रीले जवाफ दिएपछि बजेट पास गर्ने समयमा विपक्षी दलका सांसदहरूले बहुमत नभएकोले बजेट पास नहुने बताएका थिए ।

बजेटमाथि छलफल गरेर सहमति जुटाउन एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले समय माग गरे पनि सभामुखले समय उपलब्ध नगराएपछि एमालेका सांसदहरू प्रदेशसभा बैठकबाट बाहिरिएका थिए ।

हाल ८३ सदस्यीय प्रदेश सभामा एमालेका ३८ र जनता समाजवादी दलको महन्थ ठाकुर पक्षका ३ जना गरी ४१ जना सांसद छन् । विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १७, जसपा उपेन्द्र यादव पक्षका ३ जना, राष्ट्रिय जनमोर्चाका १ र एमालेबाट निर्वाचित बिमला वली गरी ४१ जना नै सांसद छन् ।