भीम रावल रअ एजेन्ट हुन् ?

३० असार २०७८, बुधबार १३:५४

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसंग भेटेपछि सबै भन्दा चर्को आलोचना गर्ने एमालेका उपाध्यक्ष भीम रावल अहिले ‘रअ’ संग मुछिएका छन् ।

भीम रावलले केहि दिन अघि भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रतिनिधिहरु संग भेटेपछि अध्यक्ष केपी शर्मा ओलीसंग नरम भएको साथै माधव नेपाललाई एमाले एकता तर्फ मोड्न विशेष भूमिका खेलेको आरोप केही मिडियाहरुले लाएका थिए । बालुवाटारमा आयोजित एमालेको बैठकमा भीम रावल एकाएक पुगेपछि यो समाचारलाई थप जोड पुगेपछि भीम रावलको नाम मुछिएको थियो ।

तर आज नेता भीम रावलले आफू उक्त संस्थाका कसैसंग पनि भेट नगरेको भन्दै एक प्रेस नोट सार्वजनिक गरेका छन् । नेता रावलले प्रेस नोटमा भनेका छन्, “त्यो दिन साँझ म र रघुजी पन्त माधवकुमार नेपालजीको निवासमा थियौं । हामीले कुरा गरिरहेको समयमा विष्णुप्रसाद पौडेलको फोन आयो । उहाँको फोन आएको कुरा दुबै जनालाई जानकारी गराएँ । विष्णुजीले बालुवाटारमा प्रधानमन्त्रीले कुरा गर्न खोज्नुभएको छ भन्नुभएपछि मैले माधव नेपालजी र रघुजीले सुन्नेगरी फोन खुल्ला राखेँ ।”

आफू बालुवाटार एमाले एकताका लागि पहल गर्न गएको कुरालाई तोडमोड गरि ‘रअ’ संग आफ्नो नाम जोडिएको प्रति खेद प्रकट गरेका छन् नेता रावलले । आफू राष्ट्रहित विपरित कसैसंग नभेटेको कुरा समेत उल्लेख गरेका छन् ।