
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा अधिकांशको आकर्षण युवा उम्मेदवारप्रति छ । सभापतिमा नयाँ अनुहार आउनुपर्ने बहस चलिरहेका बेला महामन्त्री पदमा समेत धेरैको चासो छ ।महामन्त्री पदमा ७ जना चर्चित युवाहरू उम्मेदवार बन्नसक्ने देखिएको छ । तर तीमध्ये गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई धेरैले रुचाउने गरेका छन् ।
महामन्त्री पदमा २ जना भिड्दा एक जना हार्नुपर्ने होला भनेर धेरैले सोच्ने गर्छन् तर यसपालि गगन र विश्वप्रकाश दुबैले एकैपल्ट जित्नसक्ने प्रावधान नेपाली कांग्रेसको विधानमा रहेको छ ।नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा २ जना महामन्त्री हुने भएपनि यसपालिदेखि दुबै महामन्त्री चुनावबाट निर्वाचित गर्ने व्यवस्था गरिएको छ । यसअघि १ महामन्त्री निर्वाचनबाट र १ महामन्त्री सभापतिले मनोनित गर्ने व्यवस्था रहेको थियो । यसपालि दुबै महामन्त्री चुनावबाटै निर्वाचित हुने भएकाले महाधिवेशन प्रतिनिधिको भोट पाउन सकेमा गगन र विश्वप्रकाश दुबै एकैपल्ट महामन्त्री बन्न सक्नेछन् । यस्तो बेला महामन्त्री पदका सम्भावित आकांक्षीबारे नेपाली कांग्रेसका चर्चा सुरु भएको छ । गगन र विश्वप्रकाशसँगै प्रदीप पौडेललाई समेत महामन्त्रीमा आकांक्षीका रूपमा हेरिएको छ ।
नेताहरु धनराज गुरुङ, जीवन परियार, चन्द्र भण्डारी, सरिता प्रसाई, कल्याण गुरुङ समेत कांग्रेसमा पदाधिकारीका आकांक्षी छन् । कांग्रेसमा युवाभन्दा बढी समय राजनीति गरेका रामशरण महत, मिनेन्द्र रिजाल, प्रकाशशरण महत, रमेश लेखकले पनि महामन्त्रीमा प्रतिस्पर्धा गर्ने सम्भावना रहेको चर्चा छ । महाधिवेशनमा उम्मेदवारी दिँदा कुन प्यानलको सभापतिले कुन महामन्त्रीलाई रोज्छन् र उम्मेदवार बनाउँछन् भन्ने हेर्न बाँकी छ ।
आगामी भदौमा हुने महाधिवेशनका लागि सभापतिका प्रतिस्पर्धीले दौडधुप सुरू भएको छ । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला, नेता प्रकाशमान सिंह लगायत आकांक्षी देखिएका छन् । देउवा र निधिले प्रचारप्रसार र छलफललाई घनिभूत बनाएका छन् । वरिष्ठ नेता पौडेलले समेत आफ्नो पक्षभित्र छलफल अगाडि बढाएका छन् ।
