मनसुन भित्रिसके पनि जोखिम न्यूनीकरणको बेवास्ता

३१ जेष्ठ २०७८, सोमबार ११:५६

 

 

काठमाण्डाैं ।  नेपालमा  मनसुन सुरु भएको केही दिन भइसके पनि सरकारले कुनै तयारी गरेको छैन  । यो बर्ष औसत मिति जुन १३ अर्थात् जेठ ३० गतेभन्दा दुई दिन अगाडि नै मनसुनको आगमन भएको बताइए पनि सरकार यसको पूर्व तयारीमा जुटेकै छैन । सरकार त राजनीतिको दाउपेचमा मस्त छ ।

गत वर्ष जुन १२ मा भित्रिएको मनसुन अक्टोबर १२ मा बाहिरिएको थियो । यो वर्ष अघिल्ला वर्षहरूमा भन्दा धेरै पानी पर्ने अनुमान जल तथा मौसम विज्ञान विभागको छ ।

देशको भौगोलिक संरचना अनुसार पहाडमा बाढी, पहिरो तथा तराईमा डुवानको समस्या हुने गर्दछ । यस वर्ष सरकारले तयार पारेको सम्भावित सूची अनुसार २३ जिल्लाका १७ लाख बासिन्दा बाढीबाट र २६ जिल्लाका १ लाख २० हजार बासिन्दा पहिरोबाट प्रभावित हुने अनुमान छ । तर, वर्षा शुरू हुनै लाग्दा पनि सम्भावित जोखिम रोक्ने पूर्वतयारी अत्यन्त फितलो हुने गरेको छ। त्यसको मार सर्वसाधारणले खेप्न पर्ने बाध्यता छ ।

सरकारले तयारी नगरेको कारणा जनताले दुख पाएको  गुनासो बर्षैपिच्छे आउने गरेको छ । बर्षा सुरू भएर जनजीवन ध्वस्त र अप्ठेरो परेपछि  मात्र सरकारी सम्यन्त्रले चासो देखाउने गरेको सर्वसाधारण बताउँछन् । यता गृहमन्त्रालय भने जोखिम प्रतिकार्य योजना बनाउन सबै मातहतका निकायलाई निर्देशन दिइसकेको बताएर बसेको छ  ।