मान्छेको ज्यान बचाउने काम पहिलो हो : वर्षमान पुन

३१ जेष्ठ २०७८, सोमबार ११:४३

काठमाडाैं ।  पूर्व ऊर्जा, जलस्रोत तथा सिञ्‍चाइ मन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले मान्छेको ज्यान बचाउने काम पहिलो रहेको बताएका छन् ।  साथै उनले पहिले कोरोनाविरुद्ध एकजुट भएर लड्नुपर्ने बताएका छन्। रोल्पाका दशवटै स्थानीय तह, रोल्पा अस्पताल तथा अन्य निकायलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नेक्रममा उनले यस्तो भनेको  हुन्। नेता पुनले स्वास्थ्यजस्तो संवेदनशील विषयमा राजनीति नगर्न सबैसँग आग्रह गरेका छन्। स्वास्थ्य सामाग्री जिल्लामा पुर्‍याउने विषयमा केही व्यक्तिले गैरजिम्मेवारीपूर्ण हिसाबले राजनीति गर्न खोजेको भन्दै उनले त्यसको कडा प्रतिवाद गरे।

‘पहिले सबैको साझा दुस्मनको रूपमा रहेको कोरानाविरुद्ध लडौँ,’ पुनले भने, ‘मान्छेको ज्यान बचाउने सवालमा कोही नपन्छिऔँ, राजनीति त गर्दै गरौँला।’ आफूले पनि नगर्ने, तर गर्न खोज्नेहरूलाई पनि गर्न नदिने प्रवृत्तिले कोही कसैलाई फाइदा नहुने उनको तर्क थियो।

सधैँभरि निषेधाज्ञा गरेर पनि समस्या नहट्ने भन्दै उनले स्वास्थ्य सतर्कता अपनाएर विकास निर्माण तथा अन्य काम पनि सँगसँगै अगाडि बढाउनुको विकल्प नरहेको बताए। कोरोनासँग पनि लड्ने र काम पनि सँगसँगै अगाडि बढाउनुपर्नेमा उनको जोड थियो।

माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेका पुनले कोरोना संक्रमण जोखिम अझै रहेकाले सबै सचेत र सतर्क रहनुपर्नेमा जोड दिए।

जिल्लामा ११ सय एन्टिजेन किट, अक्सिजन जेनरेटर, एन ९५ मास्क, सर्जिकल मास्क, अक्सिजन ब्यागलगायतका अत्यावश्यक स्वास्थ्य सामाग्री निःशुल्क रूपमा प्रदान गरिएको पुनको सचिवालयले जनाएको छ। माओवादी केन्द्रको आग्रहमा चीन तथा अन्य देशमा रहेका पार्टीनिकट संगठनहरूले पठाएको स्वास्थ्य सामग्री विभिन्न जिल्लामा पुर्‍याइएको बताइएको छ। पूर्वमन्त्री पुन तथा पूर्व-सभामुख ओनसरी घर्ती मगरसहितको टोलीले रोल्पाका दशवटै स्थानीय तह तथा अन्य निकायलाई स्वास्थ्य सामाग्री प्रदान गर्ने जनाएको छ।