
काठमाडौं । उपत्यकामा पनि निषेधाज्ञा थपिएको छ । भ्याक्सिन पाउने इरादाले पर्खिरहेका सर्वसाधारण फेरि पनि निषेधाज्ञाकै मारमा पर्ने भएका छन् । संक्रमणको दर केही कम भएपनि जोखिम कायमै रहेकाले थप निषेधाज्ञा गर्नुपरेको बताइएको छ । काठमाडौं, भक्तपुर र ललितपरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरेको हो । गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।
थपिएको निषेधाज्ञाको केही मोडालिटी परिवर्तन भएको हो । थप गरिएको निषेधाज्ञाको मोडालिटी बमोजिम जेठ ३१ गतेसम्मको निषेधाज्ञामा बिहान ९ बजेसम्म खाद्यान्न तथा पसल र तरकारी पसल खुल्दै आएका छन् । अब ११ बजेसम्म खुलाउन दिइने छ । विकास निर्माणका कामलाई स्वास्थ्य मापदण्ड पालना गरी अगाडि बढाउन दिइनेछ ।
बैङ्क तथा वित्तीय संस्था, सरकारी कार्यालय लगायत अन्य क्षेत्रमा काम गर्ने कर्मचारीको निजी सवारी साधनको आवतजावतमा समेत सहजीकरण हुने गरी निर्णय भएको छ । तर, सवारीमा आवतजावतमा पूर्ण स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । सार्वजनिक सवारी साधनको हकमा पहिलाकै मोडालिटी रहेको छ । जसअनुसार जोरबिजोर प्रणाली तत्काल लागु हुने छैन । मास्क लगाएर यताउता हिँडडुल गर्न दिइनेछ ।
जे जे परिवर्तन भए पनि जनताले छिटो भ्याक्सिन पाउनुपर्ने कुरामा भने सरकार उदासीन छ । अनुदानमा पाइने भ्याक्सिन पाए सर्वसाधारणले भ्याक्सिन पाउन सक्छन् । नभए सम्भव छैन । महामारीकाे यस्तो अवस्थामा जनता बचाउन भ्याक्सिन दिन पर्ने हो कि लकडाउनको सहारा लिने ?
