
एजेन्सी । भारतको राजधानी दिल्ली राज्यमा कोरोना संक्रमण न्यून हुँदै गएपछि रेष्टुरेन्टसमेत खोल्ने तयारी गरिएको छ। हाल भारतमा कोरोना संक्रमण घट्दै गएको छ । त्यसैले कडाउन पनि खुकुलो पारिँदै गएको हो । भारतका धेरै सहरमा लकडाउन खुकुलिँदै गएको छ । यो सँगै राजधानी रहेको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा पनि लकडाउन खुकुलो बनाउन लागेको बताइएको छ ।
दिल्लीमा हाल एक हप्ताको ट्रायलको आधारमा लकडाउन खुकुलो पारिँदै गएको छ। कोरोना संक्रमण फेरि बढेमा तत्काल लकडाउनमा कडाइ गरिने पनि केरजरीवाल बताउँछन् । दिल्लीमा भोलि (सोमबार)देखि पसल, मल र रेष्टुरेन्टमाथिको प्रतिबन्ध खुकुलो पारिनेछ। केजरीवालका अनुसार यस्ता सेवाहरु बिहान १० बजेदेखि राति ८ बजेसम्म सञ्चालन गरिनेछ। साथै रेष्टुरेन्टहरु ५० प्रतिशत ग्राहक क्षमतामा मात्र सञ्चालन गर्न पाइनेछ।
हाल दिल्लीमा यातायात जोरबिजोर प्रणालीमा खुलेका थिए। अब सबै पसल सातै दिन खुल्नेछन्। त्यस्तै हरेक क्षेत्रमा एक साप्ताहिक बजार खोल्ने अनुमति दिइनेछ। जसमा ५० प्रतिशत बिक्रेताले मात्रै आफ्ना पसल खोल्न पाउनेछन्। त्यस्तै दिल्ली मेट्रो र सरकारी बसमा ५० प्रतिशत यात्रु राखेर चलाउन पाइनेछ। अटो, क्याबमा २ जना यात्रीलाई मात्रै बस्ने अनुमति हुनेछ। बिहे र अन्तिम संस्कारमा २० जनालाई सहभागी हुने अनुमति दिइनेछ। बैंक्वेट, सभाहल, स्पा, जिम, स्वीमिङ पुल, सार्वजनिक पार्क तथा गार्डेनहरु भने बन्द नै रहनेछन्।
