शीतलनिवासको झैं षड्यन्त्र पोखरामा नदोहोरियोस् : विश्व प्रकाश

२९ जेष्ठ २०७८, शनिबार १६:५९

पोखरा।  कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शीतलनिवासको झैँ षड्यन्त्र पोखरामा दोहोरिने आशंका बढेको बताएका छन् । प्रवक्ता शर्माले दुई दिनअघि विश्वासको मत गुमाएका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि मुख्यमन्त्रीमा दाबा गरेपछि आशंका बढाएको बताएका हुन् ।

उनले बहुमतको हस्ताक्षर मात्र नभएर बहुमत सांसदको उपस्थिति कहाँ छ ? भनेर हेर्न सुझाएका छन् । ‘होसियार ! शीतलनिवासको झैँ षड्यन्त्र पोखरामा नदोहोरियोस् ! कब्जा शैलीमा राष्ट्रपतिको दुरुपयोगझैँ विश्वासको मत दुई दिनअघि गुमाएका व्यक्तिको पुनः मुख्यमन्त्रीमा दाबाले षड्यन्त्रको आशंका बढाएको छ,’ शर्माले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘तस्बिर बोल्छ– बहुमतको हस्ताक्षर मात्र होइन बहुमत ३१ सांसदको उपस्थिति कहाँ छ ?’

गण्डकी प्रदेशमा मुख्यमन्त्री गुरुङले विश्वासको मत नपाएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छिन् । विपक्षी गठबन्धनका तर्फबाट कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सभाका ३१ सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि दाबा पेस गरिसकेका छन् । सुक्रबार विश्वासको मत पाउन नसकेका गुरुङले पनि दाबा पेस गरेका छन् ।