गण्डकी प्रदेश विपक्षी गठबन्धनका ३१ जना सांसद प्रदेश प्रमुख निवास अगाडि धर्नामा

२९ जेष्ठ २०७८, शनिबार १६:४२

पोखरा । गण्डकी प्रदेशमा वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय सकिएको छ। मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरूङले पनि दाबी पेश गरेपछि विपक्षी गठबन्धन प्रदेश प्रमुखको निवास अगाडि धर्नामा बसेका छन्।नयाँ सरकार गठनका लागि मुख्यमन्त्री गुरुङले गरेको दावी असंवैधानिक र अलोकतान्त्रिक हर्कत भएको भन्दै विपक्षी गठबन्धनका सबै ३१ जना सांसदहरू प्रदेश प्रमुकको निवासमा पुगेका हुन्।

प्रदेश प्रमुखले वैकल्पिक सरकार बनाउन दिएको समयको अन्तिममा शनिबार दिउँसो विघटित सरकारका मुख्यमन्त्री गुरुङले राष्ट्रिय जनमोर्चा नेपालका कृष्ण थापा र जनता समाजवादी पार्टीको प्रदेश कमिटीको समर्थन रहेको पत्रका आधारमा दाबी पेश गरेका थिए।यसअघि शुक्रबार नै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहितका गठबन्धनले स-शरीर उपस्थित भएर नेपाली कांग्रेसको नेतृत्वमा सरकारको दाबी गर्दै बहुमत अर्थात ३१ सदस्यको हस्ताक्षर बुझाइसकेका थिए ।

गुरुङको दाबीले प्रदेशमा नयाँ सरकार बनाउन नदिन र संसद विघटनतिर लैजान चलखेल भइरहेको भन्दैं त्यसलाई रोक्न प्रतिपक्षी दलहरू प्रदेश प्रमुखको पुगेका हुन्।बहुमत देखाइसकेको अवस्थामा संसदबाट विश्वास गुमाइसकेको सरकारले संसद विघटन गरेमा सरासर असंवैधानिक हुने प्रस्तावित मुख्यमन्त्रीका उम्मेद्वारा यसअघि नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बताए।

मुख्य मन्त्रीको निवास अगाडि पुग्नेमा नेपाली कांग्रेसका १३ जना, माओवादी केन्द्रका ११ जना, जसपाका २ जना, जनमोर्चाका १ जना र स्वतन्त्र सांसद दीपक मनाङ्गे छन्।‘संविधानको धारा १६८ को उपधारा ५ को सरकारका लागि विपक्षी गठबन्धनले ३१ जना सांसद पुर्‍याएपछि कसरी फेरि उहाँले समर्थन रहेको दाबी गर्न मिल्छ?,’ पोखरेलले भनिन्, ‘ पार्टीभित्र नरहेको मानिसलाई देखाएर हुँदैन।’