अर्थमन्त्रीका छोरा कालो धन सेतो बनाउन सक्रिय हुँदा सेयर बजारमा उछाल

३० जेष्ठ २०७८, आईतवार १३:१०

-हरिकृष्ण खतिवडा 

 नेपालमा कोरोनाको दोस्रो भेरियन्ट सुरु भएपछि धेरै जसो व्यवसायहरु धराशयी भइरहेको सर्वविदितै छ । कतिपय व्यवसायीहरु बैंकको ऋण र व्यवसायको तनावले आत्महत्या गर्ने अवस्थामा छन् । तर, सेयर बजार भने दिनदिनै उकालो लागिरहेको छ । हरेक दिन नयाँ नयाँ रेकर्ड बनाएर सेयर बजारमा यस्तो उछाल आउँदा किन यसो भयो भनेर तपाईंलाई पक्कै पनि जिज्ञासा लागेको हुनसक्छ । सेयर बजारमा यसरी उछाल आउनुमा कालो धनलाई सेतो बनाउन गरिएको प्रपञ्च त होइन भनी प्रश्न गर्ने धेरै ठाउँहरु देखिएका छन् ।
नेपाली सेयर बजारमा गत आइतबार नेप्से परिसूचक र बजार पूँजीकरणले नयाँ रेकर्ड नै बनाए । यससँगै गत आइतबार सेयर बजारको आकार पौने ३७ अर्बको देखिएको थियो । नेपालमा सेयर बजारमा देखिएको यो नौलो रेकर्ड हो । कम्युनिष्ट पार्टीको सरकार रहँदा नेपालमा सेयर बजारको यस्तो अनौठो रुप बिरलै देख्न पाइन्छ । त्यसमाथि पूर्व अर्थमन्त्री युवराज खतिवडाको पालामा त सेयर बजार हरियो पनि देख्न पाइएन भन्दा अनुचित नहोला । हालकै अर्थमन्त्री विष्णु पौडेल रहँदा पनि पहिले यसरी सेयर बजारले आकाश छोएको थिएन ।

अर्थतन्त्रको अवस्था
नेपाली लगानीकर्ता एक त कोरोनाले थलिएको अवस्था छ । अर्कोतिर राजनीति कता जाने भन्ने टुंगो छैन । कसको सरकार बन्ने र नीजि क्षेत्रका लगानीकर्ता प्रेरित हुन सक्ने वा नसक्ने भन्ने द्विविधा अहिलेको अर्थतन्त्रको हो । बैंक वित्तीय संस्थाहरु ऋण लिने मान्छे नपाएर छटपटाइ रहेका छन् । फाइनान्सहरु पैसा नभएर टाट पल्टिएका छन् । व्यापारीको गोजी सुकी झरल त मरलको स्थिति छ । उद्योगधन्दाहरु मजदुरलाई पैसा दिन सक्ने अवस्थामा पनि छैनन् । मद्यमवर्ग जेनतेन छाक टारिरहेका छन् । चालु अर्थतन्त्रको बजेट असारे डोजरे विकासमा खर्च भइरहेको अवस्था छ । आगामी दिनमा नेपालको अर्थतन्त्रको हालत एकदमै नाजुक हुने अवस्था टट्कारो देखिन्छ । यो समय अर्थतन्त्रको हालत एकदमै खस्किरहेको अवस्था हो । सरकारकै पनि टुंगो छैन । बजारका लगानीकर्ता यसबेला आकर्षित हुनसक्ने अवस्था पनि होइन । यस्तो चुनौतीकाबीच कसले आकाशमा लगिरहेको छ सेयर बजार ? के कारणले सेयर बजार चम्किरहेकोे छ त ? रहस्यमय कुरा होइन ?

ओली सरकारका अर्थमन्त्रीले लगानी कर्तालाई आकर्षित गराएका पनि छैनन्, तर पनि किन ?
हालका अर्थमन्त्रीले नेपाली अर्थतन्त्रमा पाइला टेकेपछि पनि सयेर बजारमा खासै लगानीकर्ताको चासो देखिएको थिएन । विष्णु पौडेलले पनि पुरानै अर्थमन्त्री युवराज खतिवडाको पद पच्छ्याएकोले सेयर बजार उकासिन नसकेको लगानीकर्ताहरु आरोप लगाउँदै आएका थिए । विगत तीन वर्षदेखि निदाइरहेको सेयर बजार लकडाउनका बेला यसरी तात्ला भनेर कसैले सोचेको पनि थिएन । तर, यो भइरहेको छ । बालुवाटारे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्नु अघिसम्म पनि सेयर बजारमा लागनी गर्नेहरु लगभग टाट पल्टिएको अवस्था सर्वविदितै छ । बजेटमा पनि सेयर बजार उकासिने कुनै तत्व फेला परेको छैन । यस्तो अवस्थामा सेयर बजार उकासिँदा धेरै किसिमका आशंका उपशंका गर्ने ठाउँ देखिएका छन् ।

अर्थमन्त्री पौडेलका छोरा नवीनका कारण ?
बालुवाटारे अर्थमन्त्री विष्णु पौडेलका छोरा नवीन पौडेल अहिले सेयर बजारमा छन् । उनी एउटा ब्रोकर एजेन्सी नै चलाएर बसेका छन् ।उनै नवीनले बाबुको कालो धन सेतो बनाउने रणनीतिमा सेयर बजारमा उछाल आएको कतिपयको दाबी छ । उद्योगपतिसँग पैसा छैन, लगानी कर्ता टाट पल्टिरहँदा कसले चलाइरहेको छ सेयर बजार भनी प्रश्न गर्ने हो भने सेयर बजारका धेरैको यही उत्तर हुन्छ नवीन पौडेलले । हुन पनि बजारमा कसैसँग पैसा नभएको अवस्थामा सेयर बजारको यस्तो उछाललाई त्यसै नजरअन्दाज गर्न मिल्दैन । बालुवाटारको जग्गा प्रकरणमा मुछिएका पौडेल अहिले मुलुकको अर्थतन्त्रको अभिभारा बोकिरहेका छन् । सरकारी जग्गा त आफ्नो बनाउने हैसियत राख्ने पौडेलले कालो धन सेतो पार्न छोरालाई प्रयोग गरेनन् भन्ने कसरी सोच्ने ? सेयर बजारमा उछाल देखिएपछि नवीनको सम्पत्ति विवरण बजारबाट कमाएको देखिने भयो । बाबुले भ्रष्टाचार गरी कमाएको सम्पत्ति एकाएक सेयर बजारबाट कमाएको देखाउन पाइयो । केरकार गर्न सक्ने अवस्था पनि रहेन । लगानीका समय बाबु छँदैछन् । बाबुले थुपारेको काला ेधनलाई करोडौंमा बदल्ने पौडेल परिवारको यो रणनीति निश्चय पनि रहेकै हुनसक्छ । प्रधानमन्त्री निवासकै जग्गा आफ्नो नाममा पार्नसक्ने अर्थमन्त्रीले छोरालाई कालो धन सेतो बनाउने मौका नदेलान् भन्न पनि सकिन्न ।

यसपछि के हुन्छ बजारको रङ ?
नेपालमा राजनैतिक संकट र राजनैतिक ध्रुवीकरणकाबीच सेयर बजारको अवस्था नाजुक हुने गर्दथ्यो । सेयर बजारमा लगानी गर्ने अधिकांश नीजि क्षेत्रकै लगानीकर्ता छन् । यसअघि माओवादी वा एमाले नेतृत्वको सरकार छँदा सेयर बजारका लगानीकर्ताको भागाभाग पनि देखिएकै कुरा हो । फेरि लगत्तै कांग्रेस नेतृत्वको सरकार छँदा सेयर बजारमा हरियाली छाएको पनि देखिएको थियो । यो पटक भने छेउ पनि नमिल्ने टुप्पो पनि नमिल्नेगरी सेयर बजारले आकाश छोइरहेको हुँदा पौडेलका छोराको हर्कत भनेर भन्न मिल्ने प्रशस्त ठाउँ देखाउँछ । यदि नयाँ सरकार बनेर विष्णु पौडेल अर्थमन्त्रीबाटफालिएको खण्डमा सेयर बजार एकैपटक ओरालो लाग्ने बजारको भविष्यवक्ताको दाबी छ । यसले के देखाउँछ भने बाबुको अर्थमन्त्रीको जागिर चैट् हुने बित्तिकै नवीनले बजारबाट हात झिक्छन् । त्यसैगरी उनीसँग सहकार्य गरिरहेका अन्य ब्रोकर र लगानीकर्ता पनि सँगै हात झिक्छन् । उनले जति पनि नातेदारको नामबाट कारोबार गरेका छन् तिनीहरुको बहिर्गमन पनि सँगै हुने निश्चित छ । थोरै भारी बाकेर उनी सेभल्याण्ड गर्छन् नै । बजार सामान्य अवस्थामा झर्छ । यो आकलन बजारकै कतिपय साथीहरु गर्दछन् । साना लगानीकर्ताको हरिबिजोग हुने पनि निश्चित छ । यदि यही सरकार टिकिरहेको खण्डमा पनि सँधै नवीनले बाबुको बुई चढिरहन सक्ने अवस्था रहँदैन । उनी भुँइमा टेकेर सेभल्याण्डका लागि उत्रन्छन् नै । त्यसपछि साना लगानीकर्ताको हरिबिजोग हुने हो ।