गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त

२७ जेष्ठ २०७८, बिहीबार १८:१२

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदमुक्त हुनुभएको छ ।बिहीबार प्रदेशसभा बैठकमा भएको मतदानमा विश्वासको मतका प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री गुरुङ स्वतः पदमुक्त हुनुभएको हो ।५८ सांसद् उपस्थित रहेको प्रदेशसभामा २७ जनाले मुख्यमन्त्रीको पक्षमा मतदान गरेका थिए भने ३० जनाले मुख्यमन्त्रीको विपक्षमा मतदान गरेका थिए । राष्ट्रिय जनमोर्चाका सांसद् कृष्ण थापाले मतदान गर्नुभएन ।

गुरुङको पक्षमा नेकपा एमालेका सांसद्ले मतदान गरेका थिए भने विपक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसद्ले मतदान गरेका थिए ।गत वैशाख २७ गते गण्डकी प्रदेश प्रमुख सीतादेवी पौडेलले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री गुरुङलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । उपधारा ४ बमोजिम मुख्यमन्त्री गुरुङ ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्थ्यो ।मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेसँगै अब संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको सरकारका लागि ढोका खुलेको छ ।