एकजना दक्षिण अफ्रिकी महिलाले दश जना सन्तानको जन्म दिइन्

२७ जेष्ठ २०७८, बिहीबार १४:४८

काठमाडौं । एकजना दक्षिण अफ्रिकी महिलाले दश जना सन्तानको जन्म दिनुभएको छ । यसअघि एक जना अमेरिकी महिलाले सन् २००९ मा आठ जना शिशुको जन्म दिनुभएको थियो । उक्त दुर्लभ घटना गिनिज बुक अफ वल्र्ड रेकर्डमा सूचीकृत छ । गत् महिना मात्रै मोरक्कोकी एक जना २५ वर्षीया महिलाले नौ सन्तानको जन्म दिनुभएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अफ्रिकी महिला गिसैमे थिमारा सिथोलेले सोमबार दश सन्तानको जन्म दिनुभएको हो । दक्षिण अफ्रिकाको प्रिटोरियामा एक अस्पतालमा उहाँलाई भर्ना गरिएको थियो । सुत्केरी हुनुभएकी सिथोलेकी श्रीमानले एक महिना पूर्ब गरिएको ‘स्क्यान’मा आठ जना मात्रै देखाएकोमा जन्म हुँदा दश शिशु रहेकोमा आश्चर्यमा परेको प्रतिक्रिया दिनुभयो । सिथोलेको स्वास्थ्य अवस्था हाल स्थिर रहेको जनाइएको छ । चिकित्सकले दुई शिशु अन्य नलीमा रहेको पछि मात्रै थाहा पाएका थिए ।
जन्मिएका शिशुमा सात छोरा र तीन छोरी छन् । सिथोलेकी श्रीमानले भन्नुभयो, “म धेरै कुरा गर्न चाहन्न, यद्यपि अत्यन्तै भावुक र खुशी छु ।” बीबीसीसँगको कुराकानीमा परिवारका एक जना सदस्यले जन्मिएका दश शिशुमध्ये पाँचको प्राकृतिक बिधिबाट र पाँच शल्यक्रियाबाट निकालिएको बताए । स्क्यानबाट गर्भमा रहेको बच्चाको सङ्ख्या जानकारी पाउँदा गर्भमा कसरी बस्ने र कसरी बाँच्ने आफैंमा कौतुहलता जागेर चिन्तित हुन पुगेको प्रतिक्रिया दिनुभएको थियो ।
३७ वर्षीया सिथोलेले यसअघि जुम्ल्याहा शिशुको जन्म दिनुभएको थियो । जुम्ल्याहा शिशु हाल छ वर्षका छन् ।