
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले कोरोना महामारीमा अरु देशलाई भन्दा नेपाललाई अलि फरक किसिमले सहयोग गनुपर्ने बताएका छन् । बीबीसी हिन्दीकी शालू यादवसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले खुला सीमा र आवागमन भएकाले पनि भारतले थोरै फरक हिसाबले नेपाललाई हेर्नुपर्ने बताएका हुन् । ‘अरु देशलाई भन्दा अलि फरक गर्न म प्रधानमन्त्री नरेन्द्र मोदीसँग निवेदन गर्छु,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हाम्रो खुला सीमा र आवागमन छ । दुई देशको बीचमा पहाड भएको भए खुला सीमा भए पनि आउनजान कठिन हुन्थ्यो । तर दुवैतर्फ खेतबारी रहेका छन् । एक घर सीमाको यतातर्फ र अर्को सीमाको उतातर्फ छ । यहाँका बासिन्दा हरेक सामानका लागि आउनेजाने गर्छन् ।’
‘के अब नेपालमा चीनको बढी प्रभाव देखिएको हो किनकी कोरोना महामारीका बेला नेपाललाई चीनले धेरै सहयोग गरिरहेको छ’ भन्ने प्रश्नमा ओलीले यस विषयमा राजनीतिलाई बीचमा ल्याउन नहुने बताए । उनले भने, ‘यसमा पोलिटिक्स ल्याउन आवश्यक छैन । यसका कसैको प्रभावको कुरै छैन । भारतले भ्याक्सिन दिन्छ, चीनले दिन्छ, अमेरिकाले दिन्छ, बेलायतले दिन्छ । जसले दिन्छ यो भ्याक्सिनको मामिला हो, यो पोलिटिक्सको मामिला होइन । यसमा राजनीति गर्न आवश्यक छैन । हामी दुवै छिमेकी देशलाई धेरै धन्यवाद दिन्छौं । किनकी एउटा छिमेकीले १८ लाख र अर्कोले २० लाख दियो । दुवै देशबाट हामीले मेडिकल उपकरण पाएका छौं, त्यसैले दुवै मुलुकलाई हामी धन्यवाद दिन्छौँ ।’
त्यस्तै ‘पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र तपाईँबीच केही मनमुटाव देखियो । आजको दिनमा नेपालको भारतसँगको सम्बन्धमा तपाईँको दृष्टिकोण के हो ?’ भन्ने बीबीसी हिन्दीको प्रश्नमा ओलीले भने, ‘छिमेकी भएकाले समस्या त हुन्छ भन्ने मेरो एउटा धारणा हो । समस्या किन उत्पन्न हुन्छ । चिली र अर्जेन्टिनाका मानिससँग न कुनै प्रेम न कुनै घृणाको सम्बन्ध छ । आजको समय फेसबुकको जमाना हो । त्यसमा पनि केही हुन सक्छ तर त्यसको सम्भावना निकै कम छ । त्यहाँ जानु पनि छैन र त्यहाँका मानिस यता आउनु पनि छैन… । तर छिमेकी भएपछि प्रेम र समस्या दुवै देखिन्छ ।’
