कसरी ठगिन्छन् बीमितहरु ? कसरी ठगिरहेछन् बीमा कम्पनीहरु ?

२४ जेष्ठ २०७८, सोमबार १५:३८

 

बीमा अन्तराष्ट्रिय क्षेत्रमा दुर्घटना र मानवीय क्षतीबाट परिवारमा हुन आउने आर्थिक संकटलाई न्यूनीकरण गर्न खोलिएको एक भरपर्दो माध्यम भए पनि नेपालमा भने इमोस्नल ब्ल्याकमेल गरी ठग्नको लागि खोलिएको सरकारी इजाजत प्राप्त ठग गिरोह संस्था जस्तो भएको छ । किनभने अधिकांश बीमकले आफूलाई अप्ठेरो परेको बेला बीमा रकम भुक्तानी पाउँदैनन् । जबकी रकम पनि बीमकको नै हो ।

सुरुका दिनमा मान्छेको आर्थिक सुरक्षाका लागि बीमा गर्ने चलन चले पनि अहिले आएर घातक रोगहरुको रक्षावरण, दुर्घटना मृत्यु सुविधा, पूर्ण अशक्तता सुविधा, मासिक आय सुविधा, सवारी साधन बीमा सुविधा, कृषि बीमा सुविधा र बाल बीमा सुविधा जस्ता नानाथरी बीमाका शीर्षकहरु बीमा कम्पनीहरुले बाँढिरहेका छन् । जसमा जोखिम न्यूनीकरणको सस्तो नारा दिइएको हुन्छ । बीमा कम्पनीका एजेन्टहरुले सर्वसाधारणलाई एक किसिमको लालच दिएका हुन्छन् । त्यही लालच र जोखिम न्यूनीकरण भन्दै बीमा कम्पनीहरु बीमितलाई ठगिरहेका छन् । बीमा रकम फिर्ता पाउने समय आइरहँदा नानाभाँतीका प्रपञ्च रचेर यिनले बीमितलाई रकम दिँदैनन् । अनेक किसिमले कोही सर्वसाधारण बीमा कम्पनीसँग लडिहालेछ भने पनि निकै समय कुरेर मात्र बीमा रकम हात पर्छ । नभए बीमा भुक्तानी पाउनु भनेको अधिकांश सर्वसाधारणका लागि फलामको चिउरा चपाउनुजस्तै हो ।

सवारी साधनको हकमा नेपाल सरकारले नै अनिवार्य बीमा गराउनुपर्ने बाध्यकारी नियम बनाएको छ । जसले गर्दा सवारी साधनधनीहरुले आफ्नो सवारी साधनको बीमा नगरी सुखै छैन । कुनै कारणवश सावारीसाधनमा क्षती पुगेको खण्डमा बीमितले आफ्नो सवारी साधनको क्षतीको आर्थिक हल आफैं गर्नुपर्ने अवस्था छ । बीमाको दाबी गर्न जाँदा प्रहरी रिपोट र क्षती भएको समयको मुचुल्का, खै ? भन्दै बीमा कम्पनीहरु बीमितलाई पन्छाउँछन् । एउटा प्श्न आफूले प्रयोग गरिरहेको सवारीको क्षती आफैं गरेर त कोही पनि बीमक बीमा दाबी गर्न नजाला नि ? यस्तो समस्या भोग्ने सर्वसाधारण मात्र होइनन् पहुँचवालाहरु पनि छन् । बीमा कम्पनीहरुले पनि म्यानपावर कम्पनीहरुले जस्तै गुण्डा पालेका हुन्छन् । यिनीहरुले जोखिम न्युनीकरणको नारा दिएर जोखिमपूर्ण बनाइदिने अर्को खतरा पनि छँदै छ । अर्कोतिर बर्दीवाला गुण्डा पनि यिनकै पक्षमा छन् । किनकी बीमा कम्पनीहरुले बर्दीवाला गुण्डालाई मोटो रकम दिएर जालझेल र षड्यन्त्रमा सहयोगको अपिल गर्ने गरेको कसैबाट लुकेको छैन ।

बीमा गर्ने समयमा जुन उत्साह इन्स्युरेन्स कम्पनीहरुले देखाउँछन् बीमांक रकम भुक्तानी गर्नुपर्दा बीमितलाई अनेक बाहाना र झन्झट दिएर बीमाको रकम दिँदैनन् । यसले गर्दा नेपालमा जति पनि इन्स्युरेन्स कम्पनीहरु छन् ती एककिसिमले जनताको रगत पसिना चुस्नकै लागि सरकारले इजाजत दिएका लुटेरा संस्थाहरु हुन् भन्नमा कुनै आपत्ति मान्न पर्ने ठाउँ छैन । हामी के सोच्छौं भने लुटेरा भनेको दिउँसै कसैको घरमा गएर हतियार देखाएर मान्छेलाई आतंकित पार्ने मान्छे हुन् । यति परिभाषाले आजको युगमा लुटेराको परिभषा पुष्टि हुँदैन । कागजमा जालझेलका शब्दहरु राखेर जनतालाई इमोस्नल ब्याकमेल गरी ठग्नेहरु धेरै छन् । यही कडीमा राजनीति, समाजसेवाको ढोंग, बीमा कम्पनीहरु र म्यानपावर कम्पनीहरु समेत रहेका छन् । नेपालका लागि यी यस्ता संस्थाहरु हुन् जसले पीडितलाई कहिल्यै मल्हम लगाउँदैनन् ।

साउथ कोरियामा बीमितले बीमा कम्पनीबाट आफूले पाउने रकम एकदमै सजिलै पाउँछन् । ज्यादातर सवारी दुर्घटनापछि दुर्घनामा पार्ने र दुर्घटनामा पर्ने दुवै एकअर्कालाई गालीगलौज गर्नुपर्ने अवस्थामा रहँदैनन् । दुर्घटना गराउनेले दुर्घटनामा परेको व्यक्तिलाई बीमा कम्पनीको टाँसो लगाइदिन्छ । सबै जिम्मेवारी बीमा कम्पनी आफैंले उठाउँछ । यतिसम्मकी उपचारका अतिरिक्त बीमा कम्पनीले दुर्घटित व्यक्तिले काम गरिरहेको कम्पनीमा पाउने न्यूनतम पारिश्रमिकसमेत व्यहोरिदिन्छ । हाम्रोमा भने दुर्घटनामा परेको मान्छे स्वयं उठेर बीमा कम्पनीको गेटमा पुगे पनि गेटबाटै गेट पालेले छिर्न दिँदैन । यो असरल्ल अवस्था हुनुमा बीमा समीतिको उदासीनता पनि हो । अर्कोतर्फ अहिले गाउँगाउँमा बीमा कम्पनीहरु खुलेका छन् । नेपालमा यति धेरै बीमा कम्पनीको आवश्यकता नै किन ? सरकारले यसलाई नियन्त्रण किन नगरेको होला ? प्रश्नहरु उठ्छन् ।

राजनीतिका ठेकेदारहरुसँग बीमा कम्पनीको हिमचिम अर्को डरलाग्दो कुरा छ । पहुँचवालाले कागजमा घटनाहरु बनाएर बीमांकमा हिनामिना गरिरहेको तथ्यहरु प्नि छापामा आइरहेका छन् । तर, असलमा पीडितहरु बीमा कम्पनीदेखि पुलिसचौकी र न्यायालयको ढोका चाहारिरहेको देख्न सकिन्छ । लुटतन्त्रमा हुने पनि यस्तै हो । आफ्नै खल्तीबाट तिरेको रकम लिन समेत न्यायालय धाउनुपर्ने ? कस्तो कठिन अवस्थामा छन् सर्वसाधारण भन्ने कुराको जीवन्त उदाहरण यही हो । हामीले ल्याएको लोकततन्त्र यही हो ? यही अवस्था रहने हो भने बीमा गरिरहनुको अर्थ के ? हरेक महिना किस्ता किन बुझाउने ? अहिले सर्वसाधारण थोरै रकम जम्मा गर्ने बानी बसाल्ने हो भने जोखिम न्यूनीकरणको लागि आफैं सक्षम भइन्छ भन्ने अवस्थामा छन् ।

कोरोना भाइरस आउनुअघि नेपालमा कोरोना बीमाको स्किम निकालेर बीमा कम्पनीहरुले नांगो नाच नाचेको पनि देखिएको थियो । जब कोरोना भित्रियो, सर्वसाधारण मर्न लागे त्यसपछि कोरोनाको बीमांक दिन नसक्ने फजुलका तर्क निकालेर बीमा कम्पनीहरु पन्छिए । अब भन्न मन लाग्छ यी लुटेराहरुलाई, बीमांक दिन सक्दैनौ भने बीमा किन गर्छौ ए लुटेराहरु हो ? रोग नआउन्जेल जनता चुस्ने रोग आए पन्छिने ? कृषि क्षेत्रमा पशुपन्छी बीमाको हालत पनि यस्तै छ । रोग नआएसम्म बीमा रकम असुल्ने जब पशुपन्छीमा रोग देखिन्छ त्यसपछि पन्छिने । यसलाई बीमा कम्पनीहरु कम्पनीको पोलिसी भन्दा रहेछन् । एकजना बीमा कम्पनीमैे काम गर्ने साथीले मलाई सुनाएका थिए । त्यसैले बीमा कम्पनीहरु जोखिम न्यूनीकरण गरिरहेका छैनन्, सर्वसाधारणको जोखिम बढाइरहेका छन् ।

बीमा कम्पनीको लालचमा परेर धन कमाउने लालसामा सोझा नेपालीहरु गाउँगाउँमा बीमा कम्पनीको एजेन्ट बनिरहेका छन् । तिनले थोरै कमिसनको लागि आफ्नै परिवारभित्रका सदस्यलाई बीमा कम्पनीको प्रपञ्चमा फसाइरहेका छन् । जब आपत् आइलाग्छ घरकै एजेन्ट सदस्य बीमा कम्पनीले रकम दिन नसक्दा भाग्ने अवस्था सिर्जना भएको छ । यति हुँदाहुँदै पनि समाजमा बीमा कम्पनीको एजेन्ट बन्नेहरुको लर्को थामिएको छैन । थोरै कमिसनको लागि बीमा कम्पनीका दलालहरुले घरको भैंसी बेचाएर बाउको बीमा गर्न पनि पछि परेका छैनन् । बीमांक रकम निश्चित समयमा फिर्ता भए त टाउको दुखाउनु पर्दैनथ्यो । तर, बीमा कम्पनीले रकम दिने बेला गर्ने नखराका कारण कहिल्यै झन्झटमा नपरेका सोझा नेपाली अदालतको ढोका ढकढक्याउन पुगेको देखिन्छ । नेपालको आदालती प्रक्रिया त्यति सजिलो पनि छैन । लामो समय तारिखमा धाउँदाको खर्च कसले व्यहोरिदिने ? वकिलको रकम छुट्टै छ । मुद्दा जितिहाले पनि लामो समयसम्म बीमितको रकम बीमा कम्पनीले खेलाइसकेको हुन्छ । बीमितलाई उसै पनि घाटा छ ।

कुनै ठाउँमा बीमितले रकम सजिलै फिर्ता पाएको खण्डमा बीमा कम्पनीहरु सस्तो चार्चाको लागि ठूलाठूला फोटो खिचाएर बीमितलाई आत्मग्लानी गराउने र आफ्नो प्रचार गर्ने काम पनि गरिरहन्छन् । त्यस्ता फोटोहरु सामजिक सञ्जालका भित्तामा दुर्गन्ध छर्न काफी छन् । बीमितले आफ्नो फोटो यसरी दुरुपयोग हुँदा मैरै पैसा फिर्ता गर्दा तिमीहरुको यत्तिका प्रपञ्च किन ? भनी प्रश्न गर्न सकिरहेका छैनन् । यस्ताखाले फोटो यसकारण भाइरल गराइएका छन् कि सबै बीमितले सर्त अनुसार पैसा पाएका छैनन् । हामी यसरी पैसा फिर्ता गर्छौं भनेर ती आफ्नो नाम भजाउन यसो गरिरहेका छन् । यदि सबै बीमितले निश्चित समयमा पैसा पाउँदथे भने यस्ता खाले फोटो भजाउनु आवश्यकै रहँदैनथ्यो । त्यसैले बीमा कम्पनी जोखिम बहन गरिरहेका छैनन् अपितु जोखिम बढाइरहेको अनुभूति हुन्छ ।