माओवादी केन्द्र अर्घाखाँचीले पार्टी रुपान्तरणको लागि अध्यक्ष प्रचण्डलाई पठायो ५८ बुँदे सुझाव

२४ जेष्ठ २०७८, सोमबार १५:१४

 

अर्घाखाँचीजेष्ठ ३ र ४ गते जिल्ला कार्यालयको विस्तारित भर्चुअल बैठकको निर्णयवाट सुझाव पठाइएको जिल्ला संयोजक ठाकुर कुमार वि.क. (किशोर)ले जानकारी दिए ।

यस्तो छ नेकपा (माओवादी केन्द्र) अर्घाखाँचीले अध्यक्ष प्रचण्डलाई पठाएको सुझाव

श्रद्धय अध्यक्ष कमरेड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय समितिको कार्यालय
पेरिसडाँडा, कोटेश्वर, काठमाण्डौ

विषयः– सुझाव पठाइएको सम्बन्धमा ।

नेपाल कम्युनिष्टा पार्टी (माओवादी केन्द्र) अर्घाखाँची जिल्ला कार्यालयको विस्तारित बैठक मिति २०७८ जेष्ठ ३ र ४ गते बसेको भर्चुअल बैठकको निर्णयवाट पार्टी केन्द्रको मिति २०७८ बैशाख ५ गतेको परिपत्र अनुसार क देखी च सम्म पार्टीलाई रुपान्तरण गर्नको लागि मागिएका सुझावहरु जिल्ला पार्टी कार्यालयमा पेश गरीएको सुझावहरु निम्नानुसार प्रदेश कार्यालय मार्फत केन्द्रीय कार्यालयमा पठाइएको व्यवहोरा अनुरोध गरिन्छ ।

(क)
१. पार्टीले जनयुद्ध पूर्व, जनयुद्धकालिन अवस्था र शान्तिप्रक्रिया पश्चातका उपलब्धि समस्या कमी र सम्भावनाको वारेमा गम्भिर समिक्षा गरी सश्लेषण गर्नुपर्ने ।

२. विकसित परिस्थितिमा साम्राज्यावादी र दक्षिण एसिएको प्रतिक्रियावादी र घोर प्रतिक्रियावादीहरुको वारेमा गम्भिर विश्लेषण् गरी मित्र शक्ति प्रधान र गौण अन्तर विरोध पहिचान गरी प्रष्ट रोड म्याप बनाएर जानुपर्ने ।

३. जनयुद्धकालिन विचार नीति र नेतृत्व र शान्तिकालिन अवस्थामा पार्टीले अवलम्वन गरेको वाटो सीमा कमिको वारेमा निर्मम्तापूर्वक आत्मसमिक्षा गर्न पर्ने ।

४. पार्टी एकता पश्चात देखी क्रान्तिकारी आवरण भित्र देखीएको घोर दक्षिण पन्थी अवसरवादी प्रवृती र दक्षिणपन्थीहरु वामपन्थी रुजानको रुपमा देखिएको चरित्रको वारेमा भण्डाफोर गर्नुपर्ने ।

५. विचार नीति र नेतृत्ववाट गरीएका समग्र उपलब्धिहरुलाई समय सापेक्ष महान वहस चलाई सश्लेषण गर्नुपर्नेमा कमी रहेको ।

६. माक्र्सवादको सृजनात्मक प्रयोग वाट पैदा भएको नेपाली मौलिक विशेषताहरुलाई सश्लेषण् गरी जानेमा कमी ।

७. पार्टी भित्रका हरिया साँपहरुको पहिचान गर्नेमा कमी ।

८. केन्द्रले नीति विधान बनाउने पुर्ण नहुदै अर्काे पार्टी/समुहसंग एकिकरणको नाममा वा समुह मिलाउने कार्य गर्दा विधान,नीति भत्काउने, लागू नगर्ने गर्दा मुख्या समस्या भएको छ ।

९. सबै तहका कमिटी सम्म अहिले सम्म हाम्रो विधान,नीति र सिद्धान्त यो हो भनेर लैजान नसकेको अवस्था हो ।

१०. केन्द्रीकृत निर्णय प्रणाली, गुटगत मानसिकता , राज्य र पार्टीको साधन स्रोत माथी अघोषित रुपमा पार्टीका उपल्लो तहका नेताहरुवाट नै अनियमितता गरी सीमित व्यक्तिहरु नवपुँजीपतिको रुपमा उदय हुदा हुदै पनि पार्टी संगठन मुगदर्शक भएर बस्नु नै पार्टीको मुख्य कमजोरी ।

११. शहिद बेपत्ता, घाइते परिवार प्रति पार्टीको ध्यान पुग्न नसकेको ।

१२. पटक पटक पार्टी सरकारमा रहदा पनि जनमुखी कार्यक्रम ल्याउन नसक्नु ।

१३. शिक्षा स्वास्थ्य जस्ता क्षेत्रमा समाजवाद उन्मुख कार्यक्रम ल्याउन नसक्नु ।

१४. सामान्य पुुरानो पूँजीवादी सरकारले भन्दा जनताको जीवनस्तर परिवर्तन गर्ने खालका कार्यक्रम ल्याउन नसक्नु ।

१५. संगठनमा जिम्मेवारी दिदा ईमान्दार, बैचारिक रुपले स्पष्टता भएकालाई भन्दा चाकडी,खुरापाती गर्नेहरुलाई नेतृत्वमा जिम्मेवारी दिईने ।

१६. बैचारिक प्रशिक्षणबाट पार्टी सदस्यलाई सैद्धान्तिक रुपमा प्रशिक्षित गर्नेमा कमी ।

१७. पार्टी सत्तामा रहदा जनवर्गिय संगठनहरुलाई वेवास्ता गर्नु ।

१८. पार्टी संकटको बेलामा जनवर्गिय संगठनहरुलाई भुमिका र महत्व हुने जव पार्टीमा जान्छ भुमिका कम हुने समस्यालाई नियमित रुपमा परिचालन गर्ने कार्यायोजना वनाउने ।

(ख)

१. पार्टी एकता गर्दा सैद्धान्तिक एवं बैचारिक पक्षमा वहस चलाउन पर्ने जसमा पार्टीका तल्लो कमिटी सम्म विभिन्न विषयमा वहस चलाउने र सश्लेषण गर्ने परिपाटीको कमी रहेको ।

२. पार्टी र नेताहरु सरकारमा नरहदा जनताको पक्षमा दह्रो देखिने र सरकारमा गएपछि पुरै विर्सने परिपाटीको अन्त्य हुनुपर्ने ।

३. पार्टी सिद्धान्तका न्युनतम सर्त अनिवार्य रुपमा पालना भएनभएको अनुगमनको संयन्त्र बनाउनपर्ने ।

४. पार्टी कमिटीको बैठकहरुमा आलोचना र आत्मालोचना गर्ने प्रणालीको विकास गर्ने ।

(ग)

१. हरेक कमिटीमा १० प्रतिशत बैकल्पिक सदस्यको व्यवस्था गर्ने , खाली हुदा बैकल्पिकवाट पदपूर्ती गर्ने जसले गर्दा स्वच्छाचारी प्रवृती हट्दछ ।

२. पात्र छनौट गर्दा राजनीतिक पृष्ठभुमी, योग्यता क्षमता जनतामा नीजको प्रभाव, त्याग समर्पण जस्ता विषयलाई जोड दिनुपर्ने । छनौट गर्दा निश्चित घेरावाट वाहिर जानु पर्ने ।

३. हाम्रो संगठन अहिले पनि अम्रेला (छाता) आकारको छ त्यसैले गर्दा हामी जनतामा भिज्न सकेका छैनौँ । जनताले पत्ताउने सक्रिय, क्रियासिल व्याक्तिको हामीकहा खाँचो छ । गाउँमा बसेर जनसंगठन बनाउने नेतृत्वको खोजी गर्नु अनिवार्य छ ।

४. नेतृत्व छनौट गर्दा क्रियासिल, निडर, सक्षम र नेतृत्वदायी भएको, ईमान्दारीता र बफादारिता हुनू पर्दछ । स्थान विशेषको अवस्था कस्तो छ , त्यहाको भूगोल संस्कृतिक चाल चलन आदि अध्यायन विश्लेषण गर्ने हुनुपर्यो ।

५. आफ्नो नजिकको व्यक्तिलाई विभिन्न वहानामा राजनीति नियुक्ती दिने तथा अवसरमा प्राथमिकता दिने प्रचलनलाई हटाउनु पर्ने ।

६. विचारमा प्रतिबद्धता, वर्गिय पक्षधरता, ईमान्दार र क्रियासिल कार्यकर्तालाई समग्र क्षेत्र समेट्ने गरी अवसरमा प्राथमिकता दिनु पर्ने ।

(घ)

१. केन्द्र र सरकारमा प्रतिनिधीत्व गर्ने कमरेडहरुले अनिवार्य रुपमा सम्पत्ति विवरण पेश गर्नुपर्ने,

२. आर्थिक अनुशासनलाई जाँचवुझ र जाँचपडताल गर्नु एउटा अधिकार सम्पन्न विभाग निमार्ण गर्नुपर्ने ।

३. पार्टीलाई नयाँ जीवन दिन रुपान्तरणको अभियान संचानलन गर्ने, साँस्कृतिक आर्थिक नैतिक आचरणमा व्यापक सुधार गरिनुपर्ने , यो अभियान शिर्ष नेतृत्वहरुवाट प्रारम्भ गर्नुपर्ने ।

४. पार्टी संगठन निर्माण गर्दा मुख्य गरेर महिला, दलित, मजदूर, किसान र जनजातीमा ध्यान केन्द्रीत गरी बौद्धिक समुदाय, व्यापारी, शिक्षक विद्यार्थी लगाएतका समुहमा संगठन विस्तार गर्नुपर्ने ।

५. पार्टीको प्रत्येक बैठकमा आर्थिक पारदर्शिता र आलोचना र आत्मालोचना को एजेण्डालाई प्रमुख प्राथमिकता दिने ।

६. हरेक नेता र कार्यकर्ताहरुको मूल्याङ्कन उत्पादन संग जोड्नुपर्ने ।

७. पार्टीमा सहकारी समुह वा कम्पनी अभियानमा केन्द्रीय , प्रदेश, जिल्ला , पालिका र वार्डमा पार्टी कमिटीको योजनामा सम्भाव्यताको आधारमा उत्पादनमा लगाउने ।

८. ७ वटै प्रदेशमा केन्द्रको नेतृत्वमा उत्पादन केन्द्रको रुपमा नमुना काम गर्ने जसमा शहिद परिवार, घाईते र अपाङ्ग पूर्णकालिन कार्यकर्ताको परिवारलाई रोजगारको प्रबन्ध मिलाउने ।

९. उत्पादन के गर्ने कसरी गर्ने वजारीकरण कसरी गर्ने वारे विभिन्न क्षेत्रको विज्ञहरुको टिम बनाई केन्द्रवाट सम्भाव्यताको खोजी गरी सो बमोजिम पार्टीले पहल गर्नुपर्ने ।

१०. लेवीलाई नियमित गराउने हरेक कमिटीको खाता संचालन गर्ने समयमै लेवी बुझाउनेलाई मुल्याङ्कनको एउटा सुचक बनाउने ।

११. लेवीलाई पार्टी सदस्यको आर्थिक धरातल अनुसार वर्गिकरण गर्नुपर्ने ।

(ङ)

१. जिल्ला र प्रदेशमा ५ जनाको पदाधिकारी र चुस्त आकारको कमिटी एक अंक नबढ्ने गरी कार्यालय र सचिवालय बनाउनु पर्ने ।

२. भूगोलका जिम्मेवारीमा खटिने व्यक्तिहरु उक्त भूगोलमा जमेर लाग्नु पर्ने । केन्द्र तर्फ भन्दा जिल्ला र स्थानीय तह , गाउँ टोलका गतिविधिमा केन्द्रीत हुनुपर्ने ।

३. विभाग, मोर्चाका कार्यहरुलाई व्यावस्थित गरिनुपर्ने जसअनुसार कमिटीहरु भारी भर्कम ÷ठुला नगराउने तर गुणस्तरिय र क्रियासिलतामा जोड दिने ।

४. राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरुलाई उठान गरी जनसंगठनहरुलाई परिचालन गर्ने ।

५. समय सान्दर्भिक विषयहरु जनताको पक्षमा केन्द्र, प्रदेश र जिल्लावाट सुत्रबद्ध गरी परिचालन गर्ने ।

६. भ्रष्टचार अनियमितता, ढिला सुष्ती र प्रतिक्रियावादी प्रणालीका विरुद्ध जनसंगठनहरुलाई परिचालन गर्ने ।

७. विशेष गरी कोरोना भाईरस (कोभिड–१९) को प्रभाव र दैनिक जीविका उपार्जन गर्न नसक्ने नागरिकहरुलाई राहत प्याकेज कार्यक्रम ल्याउने कार्यका लागि दबाव दिन जनसंगठनहरुलाई परिचालनका कार्यक्रम गर्नुपर्ने ।

८. जनता संग जोडिएका सम्बन्धित जनसंगठनहरुलाई अन्तर सम्बन्धित समस्यालाई सुत्रबद्ध गरी मौलिकतामा निरन्तर कार्यक्रम संचालन गर्न लगाउने ।

९. सहकारी अभियानलाई उत्पादन संग जोडेर जनपरिचालन गर्नुपर्ने ।

(च)

१. पार्टीको संगठन नै मेरुदण्ड हो भन्ने अहिले सम्म केन्द्रीय नेतृत्वले बुझ्न नसकेको हो वा तल्ला कमिटिलाई जेजे गरे पनि हुन्छ भन्दा कार्यकर्ता जनता रुष्ट छन । पार्टी प्रति हिंता भाव पैदा भएको देखिन्छ फिल्डमा यसलाई सच्याउनु पर्छ ।

२. संगठन संरचना निर्माण गर्दा एउटा मापदण्ड अपनाउनु पर्दछ त्यो मापदण्ड सबैलाई मान्य होस जस्तै १८–४० वर्ष उमेरका ३० प्रतिशत , ४१–६० वर्ष उमेरका ५० प्रतिशत र ६० वर्ष उमेर देखि माथीकालाई २० प्रतिशत विभिन्न समावेशी मापदण्डको आधरमा सुनिश्चित्ता गर्ने ।

३. संगठनात्मक संरचनामा समावेशी वा सबै क्षेत्र समेट्ने कलस्टर छुट्टाई उक्त कलस्टरमा सम्बन्धित क्षेत्र÷विशेषवाट प्रतिस्पर्धा गराउने ।

४. एक व्याक्ति एक पदको व्यवस्था सुनिश्चितता गर्नुपर्ने ।

५. सबै तहका पार्टीका पदाधिकारी वा कार्यालय वा सचिवालयमा सबै क्षेत्र,महिला,दलित, भुगोल वा अन्य क्षेत्रवाट समावेशी र सबैको अपनत्व हुने गरी व्यवस्थापन गर्नुपर्ने ।

६. सबै तहका पार्टी/जनसंगठनका पदाधिकारी पूर्णकालिन हुने र पूर्णकालिन कार्यकर्ताको न्युनतम पारिश्रमिक व्यवस्था गर्नुपर्ने ।

७. पार्टी र सरकारमा आलोपालो जाने वा पार्टी नियन्त्रित सबै तहका सरकार बनाउने सोका लागि पार्टीवाट सरकार संचालन गर्ने संयन्त्र वनाउने ।

८. २१ औं शताव्दीको जनवादलाई विकसित परिस्थितिमा समय सापेक्ष वहस गरी नयाँ ढंगले संश्लेषण गर्नुपर्ने ।

९. पूर्व जनमुक्ति सेना वा पि.एल. ए वाट वाई.सि.एल नेपालका र जनयुद्धकालिन धत कार्यकर्ताहरुको अभिलेख राख्ने निनीहरुको स्थिति अवस्थाको वारेमा पार्टीवाट अभिभावकको भूमिका निर्वाह गर्ने व्यवस्था गर्नपर्ने ।

१०. एउटै व्यक्ति निरन्तर सरकारमा वा पार्टीवाट राजकीय पदमा जाने कतिपय जनयुद्ध देखी हाल सम्म पनि अवसरवाट वन्चित भई सडक छाप हुनेहरुको अभिलेख प्रदेश र जिल्लामा राखी तद कमरेडहरुको व्यवस्था गर्नुपर्ने ।

बोदार्थः– श्रद्धय अध्यक्ष कमरेड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
लुम्विनी प्रदेश कमिटीको कार्यालय बुटवल

मिति २०७८ जेष्ठ २३ गते
हार्दिक अभिवादन सहित
ठाकुर कुमार वि.क (किशोर)
जिल्ला संयोजक