काठमाडौं । कोभिड संक्रमण नियन्त्रण तथा उपचारका लागि फ्रान्स सरकारले नेपाललाई २० हजार २२५ थान एन्टिजेन परीक्षण किटसहित विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइस जाभियर लेजरले आज त्रिभुवन विमानस्थलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई ती सामाग्री हस्तान्तरण गरे ।
फ्रान्स सरकारले पाँच लाख ४ हजार थान एफएफपी २ मास्क, २० हजार २२५ थान एन्टिजेन किट, १२ हजार थान सुरक्षा चस्मा र १४ थान रेस्पिरेटर प्रदान गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री त्रिपाठीले सहयोगका लागि फ्रान्स सरकार र त्यहाँका नागरिकलाई धन्यवाद दिए । उनले फ्रान्स र युरोपेली युनियनलाई कोरोना विरुद्धको खोपका लागि सहजीकरण गरिदिन पनि आग्रह गरेका थिए ।

