निषेधाज्ञामा ११ हजार नागरिक स्वदेश फर्किए

१९ जेष्ठ २०७८, बुधबार १५:४४

काठमाडौं । निषेधाज्ञा सुरु भएपछि १० हजार ९ सय ३२ जना नेपाली स्वदेश फर्किएका छन् । यस अवधिमा १४ सय ६८ जना विदेशी नागरिक नेपाल भ्रमणमा आएका छन् । विदेशी र नेपाली नागरिक गरी कुल १२ हजार ४ सय मानिस नेपाल आएको अध्यागमन विभागले जनाएको छ । विभागका अनुसार यो तथ्यांक सन् २०२१ को मे महिनाको हो ।

मे महिनाको शुरुवातदेखि नै नेपालमा निषेधाज्ञा शुरु भएको हो । विभागका अनुसार यो महिनामा कुल ९९७७ जना विदेशी नेपालबाट बाहिरिएका छन् । नेपालमा भ्रमण र पर्वतारोहणमा आएका विदेशीहरु स्वदेश फर्किन थालेका छन् । मे महिनामा नेपालमा रहेका १३ हजार १ सय ५८ जना नेपाली समेत विदेश गएका छन् ।

भारतसँगको नियमित उडान नरोकिएका कारण अन्य देशसँगको हवाइ यात्रा बन्द भएपनि यात्रु ठूलो संख्यामा देखिएको हो । यसबीचमा अन्य मुलुकमा भने चार्टर्ड उडान मात्र भएका छन् । विभागको तथ्यांक अनुसार एक महिनामा ५८० भारतीय नागरिक नेपाल आएकामा नेपालबाट भने ४ हजार ७७७ जना भारतीय नागरिक हवाईमार्गबाट दिल्ली फर्किएका छन् । नेपालबाट बाहिरिनेमा अमेरिकाका १७१७, रसियाका ५३० र बेलायतका ३९२ यात्रु छन् ।