नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष

१९ जेष्ठ २०७८, बुधबार ०९:१५

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते राति राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश भएको हो । उक्त हत्याकाण्ड भएको आज २० वर्ष पूरा भएको हो ।

नियमित पारिवारिक जमघटको मौका पारी तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र र निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्कासहित राजपरिवारका अन्य सदस्यहरूको गोली हानी हत्या भएको थियो ।

उच्चस्तरीय छानबिन समितिले उक्त घटनामा तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोली हानेर पछि आफैँलाई गोली हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो । तर, तत्कालीन प्रधानन्यायाधीश संयोजकत्वको छानबिन समितिले स्वतन्त्र अनुसन्धान गर्न नसकेको धेरैले बताउँदै आएका छन् ।