लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा कांग्रेसका दृगनारायण पाण्डे निर्वाचित

१७ जेष्ठ २०७८, सोमबार १७:०३

बुटवल, । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसका दृगनारायण पाण्डे निर्वाचित हुनुभएको छ।सोमबार भएको राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डे राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुनुभएको हो ।पाण्डेले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मत पाउनुभयो भने खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाउनुभएको थियो ।

निर्वाचित पाण्डेले ४ हजार १४० मतभार प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी खड्काले ३ हजार ५९४ मतभार पाउनुभएको हो । प्रदेशसभा तर्फ १ र स्थानीय तहतर्फ २ मत बदर भएको छ ।राष्ट्रियसभा सदस्यमा निर्वाचित कांग्रेसका पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाको समर्थन थियो । पराजित खड्का भने नेकपा माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गर्नुभएको हो ।

सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएलगत्तै खड्का एमालेमा प्रवेश गर्नुभएको थियो ।तर माओवादी केन्द्रले कारबाही गरेपछि खड्काको सांसद पद रिक्त भएको थियो । सोही स्थानमा गराइएको उपनिर्वाचनमा पाण्डे विजयी हुनुभएको हो ।निर्वाचनमा स्थानीय तहतर्फ बाँके नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवलशमशेर राणा, बाँकेकै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह र गुल्मीको गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापा मतदानमा अनुपस्थित रहनुभयो ।